शनिबार ०५ आषाढ २०७८

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै वृद्धभत्ता बढाउने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले छिट्टै वृद्धभत्ता बढाउने तयारीमा सरकार रहेको बताएका हुन्। पार्टीको भ्रातृ सङ्‍गठन अखिल नेपाल महिला सङ्‍घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन बोल्नेक्रममा ओलीले पाँच हजार रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको बताए।

वि.सं. २०५१ बाट मासिक १०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता अहिले तीन हजार रुपैयाँ पुर्‍याएको र पाँच हजार रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए। उनले भत्ता चार हजार रुपैयाँ भने छिट्टै बनाउने पनि उद्घोष गरे। सरकारले विकास निर्माणका गतिविधिदेखि सडकका बेवारिसेलाई आश्रय दिने, सडक बालबालिकाको उद्धार र संरक्षण, शिक्षा, स्वास्थ्य रोजगारका कार्यक्रम, रास्ट्रपति चुरे संरक्षण कार्यक्रम, रास्ट्रपति महिला उद्धार कार्यक्रमका साथ समृद्धिको यात्रामा सरकार रहेको बताए।

किसान परिचयपत्र, नागरिक एप्सका साथ डिजिटल नेपालको अवधारणालाई सरकारले साकार पार्दै लगेको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले समृद्धिको यात्रालाई कसैले रोक्न नसक्ने जिकिर गरे।ओलीले प्रतिनिधि सभा विघटनपछि ताजा जनादेशमा जान डराएका दलहरू दुई वर्षपछि हुने निर्वाचनमा धुलो चाट्ने दाबी पनि गरेका छन्।

आफूले निर्वाचनको घोषणा गर्दा पराजित हुने देखेपछि नक्कली लोकतन्त्रवादीहरु हाउभाउसहित भाषण गरेको ओलीले बताए। चुनावमा जाने आँट नभएपछि आफूलाई सरकारबाट हटाउन खोजेको ओलीको भनाई छ। “नक्कली लोकतन्त्रवादीहरु, नक्कली जनवादीहरु हाउभाउसँग भाषण गर्छन्, लोकतन्त्र खत्तम पार्यो, चुनाव घोषणा गर्यो, जनताका बीचमा जाने कुरा गर्यो, ताजा जनादेश चाहियो भन्यो लोकतन्त्र, खत्तम पार्यो। यसको अर्थ के हो? यो देश अगाडि बढ्यो, चुनावमा जाने हो भने यिनले माटो चाट्छन्, धुलो चाट्छन्।”,ओलीले भने।

त्यस्तै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न नेताहरु ठाउँ-ठाउँमा प्रधानमनत्री बनिदिनू पर्‍यो भन्दै निवेदन बोकेर हिँड्ने गरेको पनि बताएका छन्। आफूले गरेको विकास देख्न नसक्नेहरुले सरकार ढाल्न खोजेको ओलीले बताए। “केपी ओलीले विकास गर्‍यो, यसलाई हटाउन पर्‍यो। विकास नगर्ने सरकार बनाउन पर्‍यो भनेर अरु पार्टीमा निवेदन हाल्न जान्छन्”,ओलीले भने।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया