
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले आफ्नो अघिल्लो शाखलाई बचाउने प्रतिवद्धता जनाएका छन् । बुधवार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कार्यभार ग्रहण गर्दै उनले काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउने बताएका छन्।
उनले आफुले यस अघि पुरा गर्न नपाएका काम पनि अब पुरा गर्ने बताएका छन् । दोस्रो कार्यकालमा अब आफूसामू धेरै चुनौति रहेको बताउँदै उनले जनताको अपेक्षा अनुरुप आफुले जिम्मेवारी लिएको उल्लेख गरे । सरकारको कार्यायोजनाअनुसार नेपालको उर्जा क्षेत्रलाई आफूले नयाँ ‘हाइट’ दिने उनले प्रतिवद्धता जनाए।
प्राधिकरणले जनताका गुनासो सुनेर दिने सेवालाई अझ राम्रो बनाउनु आफ्नो मुख्य लक्ष्य भएको उनको भनाई थियो । संस्थालाई डिजिटलाइजेसन गर्ने, स्मार्ट मिटर देशभर प्रयोग गराउने, शहरी क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउन्डिङ गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।
‘शहरलाई पोलरहित, ताररहित बनाउन सडक विभाग लगायत सबैसँग मिलेर कार्यान्वयनमा जानुपर्नेछ’ उनले भने। ट्रान्समिसन लाइनको अभावमा बिजुली खेर जाने अवस्था आउन नदिने उनले बताए।
पदभार सम्हाल्दै यसो भने कुलमानले: म मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यकारी निर्देशकमा नियुक्त भएको छु। जल तथा ऊर्जा आयोगमा निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि सरकारले उचित व्यवस्थापन गरेको छ।
म हितेन्द्रदेव शाक्यले गर्नुभएका राम्रो कामको निरन्तरता दिन्छु। हितेन्द्रदेव शाक्य पनि अयोग्य हुनुहुन्न। उहाँले पनि धेरै राम्रो काम गर्नुभएको होला, त्यसलाई म निरन्तरता दिन्छु।
तर कुनै व्यक्तिले राम्रो गर्दागर्दै पनि कुनै समय राम्रो प्रतिफल नआउन सक्छ। व्यवस्थापनको नेतृत्व र काम गर्नु फरक कुरा पनि हो। मेरो कुरा गर्दा म जनअपेक्षाअनुसार पनि प्राधिकरणको जिम्मेवारीलाई स्वीकारेको हुँ। सरकारले पनि जिम्मेवारी दियो। हामीले अब टिमवर्कले काम गर्ने हो।
कसैको बारेमा टीकाटिप्पणीभन्दा पनि काम गर्ने हो। सबैले विद्युत् प्राधिकरणलाई चिनेकै छन्। अहिले प्राधिकरणको कार्यकारी निर्देशक को हुनुपर्ने भन्ने बढी चर्चा छ। बरु प्रधानमन्त्रीमा त्यति चर्चा छैन।
जनअपेक्षाअनुसार नेपाल सरकारले जिम्मेवारी दिएको छ। एउटा संयोग के छ भने म पहिलो पटक कार्यकारी निर्देशक हुँदा जनार्दन शर्मा ऊर्जामन्त्री र प्रचण्ड प्रधानमन्त्री हुनुहन्थ्यो।
त्यही सरकारले जिम्मेवारी दिएको थियो। अहिले पनि उहाँहरुको गठबन्धनको सरकारले नै जिम्मेवारी दिएको छ। हालका प्रधानमन्त्री शेर बहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले जुन जिम्मेवारी दिनुभएको छ र उहाँहरुबाट आउने निर्देशनअनुसार काम गर्नेछु।