
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा नेपाली काँग्रेस इटहरीले ताला बन्दी गरेको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले सार्वजनिक जग्गामा घर बनाउनेलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा ताला बन्दी गरेको हो । मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा पनि काँग्रेसले तालाबन्दी गरेको थियो ।
नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले यसको अगुवाई गरेका थिए । नेता पौडेल सहित दर्जनौ कार्यकर्ता साथ इटहरी उपमहानगरपालिका पुगी इटहरी ४ आइतबारेका यामप्रसाद ढकालका पक्ष लिएका थिए । सार्वजनिक जग्गामा घर बनाएपनि यसरी थुन्नु चाँही नहुने त्यहाँ उपस्थित काँग्रेस कार्यकर्ताहरुको बिचार रहेको थियो ।
त्यसो त इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी बिभिन्न कारणले चर्चामा आइरहन्छन् । पछिल्लो पटक वडा कार्यालयको भवन उद्घाटनका क्रममा चर्चामा आएका थिए । अहिले भने एक सेवाग्राहीलाई कार्यालयमै बन्द गरेका कारण चर्चामा छन् ।
मेयर चौधरीले इटहरी– ४ का यामप्रसाद ढकाललाई आफ्नो कार्यालयमा बोलाएर बन्द गरिदिएका थिए । ढकाललाई सार्वजनिक जग्गा मिचेको आरोप छ । मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर ढकाललाई कार्यालयमा बोलाएका थिए ।
ढकाल कार्यालयमा पुगेपछि उनलाई घर भत्काउनुपर्यो भनिएको थियो । ढकालले नमानेपछि मेयर चौधरीले उनलाई कोठा भित्रै राखेर बाहिरबाट चुकुल लगाएर हिँडेका थिए । आफूलेघर भत्काउन नसक्ने प्रतिक्रिया दिएपछि बाहिरबाट चुकुल लगाएर मेयर गाडी चडेर हिँडेको ढकालले दावी गरेका छन् ।
मंगलबार मात्र इटहरी– १३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका थिए । सार्वजनिक जग्गा मिच्न नपाउने भन्दै उनले अहिले सो क्षेत्रमा घर तथा पर्खाल भत्काउदै आएका छन् । तर, मेयर चौधरीले ढकाललाई बस्दै गर्नु भनेर कामले कार्यालयबाहिर निस्केको अनि ढकालले नै आफूलाई मेयरले थुनेको भन्दै झुठो आरोप लगाएको मेयर चौधरीको दावी छ ।