यात्रु बनेर ट्राफिक प्रहरी जब टिकट काउण्टरमा पुगे…
काठमाडौं-चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा लिएर टिकट काट्ने पाँच जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ।
चाड पर्व लक्षित विशेष अभियान अन्तर्गत ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान सुरु गरिएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।
पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन्। सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर यात्रु ठगी रोक्ने अभियान चलाइएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।
चाडपर्वको मौकामा बढी भाडा असुल गर्नेहरुलाई प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाममा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर श्रव्यदृष्य अभिलेख गरेर पनि कारवाही गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ। पक्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ।