
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो पटक प्राधिकरणको कार्यभार सम्हालेका छन् । उनको पुर्नवहालीपछि धेरैले खुसीयाली मनाइरहेका छन । यही खुसीमा कलाकार तथा निर्माता दीपकराज गिरीले फेसबुकमा लामो स्टाटस पोस्ट गरेका छन् ।
उनले लेखेका छन्, ‘कुलमान न काका बौका छोरा ! न आमा पट्टिका न मामा पट्टिका भनेजस्ता । तैपनि किन किन आफ्नै जस्ता लाग्ने ! उनको कार्यकाल थपियोस् भनेर एकताका खुबै कराइयो । उफ्रियो । यसको मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाँक्न सक्दैन भनेर पनि होइन । आज पनि म कहिलेकाही त्यो कालो अँध्यारो र चिसो रातहरूलाई सम्झन्छु । त्यतिबेला साँझ नै नपरोस् जस्तो लाग्थ्यो । करिब एक दशक त्यस्तो निरस र कष्टकर जीवन बिताउन बाध्य भइयो ।’
‘आज ती दिनहरू इतिहास भएका छन् । यिनै कुलमानको आगमनपछि ‘हामी भावनात्मक छौँ’, दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौँ । त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस् भन्ने लागेको हो तर त्यो त्यतिबेला सम्भव भएन । तर आज ढिलै भएपनि उनको पुनः आगमनले मजस्ता धेरै नेपालीलाई खुसी लागेको हुनुपर्छ । राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको छ ! स्वतन्त्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ भने राम्रो कामको तारिफ गरिन्छ । यो नियुक्तिको निर्णय बिल्कुल जनप्रिय निर्णय हो । सरकारलाई धेरै धेरै धन्यवाद ! कुलमानजीलाई बधाइ ! जय नेपाल !’, दीपकराज गिरीले थपे ।
प्राधिकरणको ४ वर्षे कार्यकाल पूरा गरी गत साल भदौ २९ गते बाहिरिएका घिसिङ करिब ११ महिनापछि पुनः प्राधिकरणमा फर्किएका हुन् ।