
कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ति भएका छन्। ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको हो। एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई नियुक्ति गरेको हो।
नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् । उनले प्रक्रिया पुरा गर्नुपर्ने बताएपछि मन्त्रिपरिषदमा पुगेको नियुक्ति प्रस्तावमाथि छलफल हुन पाएको थिएन ।
तर, नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच सहमति भएको थियो । घिसिङको यसअघिको कार्यकालमा सुरु गरेका धेरै आयोजना प्राधिकरणको वर्तमान नेतृत्वले अघि बढाउन नसकेको र प्राधिकरण फेरि पहिलेकै अवस्थामा फर्किने जोखिम हुने ठहर गर्दै घिसिङलाई फेरि मौका दिने सहमति भएको हो ।
मन्त्री भुसालकै प्रस्तावअनुसार यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यलाई प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिनेगरी आयोगमा पठाउने प्रस्ताव गरिएको हो।
शाक्यले प्राधिकरणबाट हिजै (मंगलबार) बिदा लिइसकेका छन्। यसअघिको कार्यकालमा घिसिङले नै लोडसेडिङ समस्या सधैंका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा उकालेका हुन्। यसैकारण उनको पुनःनियुक्तिले आम जनता खुसी भएका छन्। कतिपय स्थानमा खुसियालीमा दीपावलीसमेत गरिएका छन्।
यसै क्रममा सत्तारुढ जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिको विषयमा भएको प्रचारबारे प्रश्न उठाएका छन् । घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको भट्टराईको भनाइ छ ।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा. भट्टराईले भनेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ, बधाइ । तर, उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ ? कस्ता दिन आए….!!’
कुलमानको नियुक्ति प्रचण्डको प्रस्ताव, प्रधानमन्त्रीको सहमति र ऊर्जामन्त्रीको सहयोगमा भएको भन्ने खालको समाचार आएपछि त्यसपछि जसपा नेता भट्टराईले असन्तोष प्रकट गरेका हुन् ।
कुलमानको कमब्याक स्वागतयोग्य छ! वधाइ! तर उनको नियुक्तिमा कसको प्रस्ताव,कसको सहमति,कसको सहयोग,कसको असहमति,कसको असहयोग,कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ? कस्ता दिन आए….!! https://t.co/sJKCE1YhCG
— Baburam Bhattarai (@brb1954) August 11, 2021