
काठमाडौं। बेलायतबाट दौडिएर काठमाडौं आउन भनेर हिँडेकी ७० वर्षमाथिकी एक महिलाको अभियान डेढ वर्षअघि रोकियो । पूरै युरोप पार गरेर एसियामा प्रवेश गरिसकेकी उनी त्यहाँबाट अगाडि बढ्ने क्रममा को’रोनाभाइरसको महामारी आएपछि बीचैबाट फर्किनुपर्यो ।
टर्कीमा आइसकेपछि म’हामारीका कारण फर्किन बाध्य भएकी उनले फेरि बेलायतबाटै काठमाडौंसम्म आउनका लागि दौड सुरु गरेकी छिन् ।७४ वर्षकी रोजी स्वेल पोपले गएको जुन २५ मा काठमाडौं आउनका लागि दौड सुरु गरेकी थिइन् । उनी १–२ दिनमै बेलायतको समुद्री सीमा ग्रिम्स्बी पुग्ने जीआइ मिडियाले जनाएको छ ।उनले बेलायतबाट नेपालसम्म आइपुग्न ८ हजार ५ सय किलोमिटरको यात्रा पूरा गर्नुपर्नेछ । उनी २ महिनापछि अक्टोबर २ मा ७५ वर्षकी हुँदैछिन् । उनले बेलायतको ब्राइटनबाट सुरु गरेको दौड नेपालको काठमाडौं आएर समाप्त हुनेछ ।यी वृद्धा अनुभवी म्याराथन धावक हुन् ।
उनले आफ्नो लागि अत्यावश्यक सामग्री र सुत्ने व्यवस्था समेत भएको एक किट साथमा लिएर दौडिइरहेकी छिन् । उनको यो किट एउटा कार्टको रुपमा छ जसमा पाङग्रा जडान गरिएको छ । आइस चिक नाम दिइएको यो किट कार्ट उनले कम्मरमा बाँधेर तान्दै दौडिइरहेकी छिन् ।
यसअघि उनले काठमाडौं आउन दौड सुरु गरेर ३ हजार किलोमिटर दूरी पार गरिसकेकी थिइन् तर महामारीका कारण उनी बीचैबाट फर्किनुपरेको थियो ।अहिले पुनः दौड सुरु गरेर बेलायतको पूर्वी समुद्री सीमामा आइपुगेकी उनले त्यहाँबाट समुद्रमा एउटा डुङ्गामा यात्रा गर्नेछिन् र त्यो डुङ्गामा नेदरल्याण्डसम्म पुग्नेछिन् ।
जमिनमा पुगेपछि उनले पुनः दौड सुरु गर्नेछिन् र नर्वेको बर्गनतर्फ जानेछिन् । त्यसपछि उनी रुस, चीन हुँदै काठमाडौं आउनेछिन् । नेपालको दुर्गम क्षेत्रका जनतालाई सहयोग जुटाउन यसरी दौडिन लागेकी रोजीले ५ हजार पाउण्ड सहयोग जुटाउने लक्ष्य राखेकी थिइन् ।
तर, यो समाचार तयार पार्दासम्म ४ हजार २ सय ८५ पाउण्ड उठाइसकेकी छिन् र उनी काठमाडौं आइपुग्दासम्म यो रकम कैयौं गुणा बढी हुने अपेक्षा गरिएको छ ।