
काठमाडौ । अहिले एउटा तस्बिरले तमाम सरकारी कर्मचारीलाई गिज्याई रहेको छ । सरकारी काम कहिले जान घाम भन्ने उखान नै चर्चामा रहेका बेला त्यसको प्रमाणका रुपमा एक तस्बिर आएको छ ।
माथिको तस्बिरले यो पुष्टि गर्दछ की सरकारी कार्यालयका कर्मचारीहरु काम गर्न हैन मिठो निन्द्राका लागि पुग्छन् । जनसम्पर्क धेरै नभएका कार्यालयमा अनावश्यक कर्मचारीको दरबन्दी भएको र जनताका काम हुने अड्डामा भने थोरै कर्मचारी ढिलो कामकारबाहीले हैरान भएका बेला जनतालाई रिस नै उठ्ने तस्बिर बाहिर आएको हो ।
तस्बिरमा देखिएको दृश्य प्रदेश २ को राजधानी जनकपुरको हो । अनि त्यो सरकारी अड्डा हो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनुषा।
आइतबार बिहान त्यहाँ पुग्दा एकजना कर्मचारी मस्त निद्रामा सुतिरहेका थिए । उनी कार्यालय समयमा आफ्नै कार्यकक्षमा सुतिरहेका थिए । उनी कर्मचारी हुन्, सोधपुछ तथा मुआब्जा शाखाका नरेन्द्र यादव ।
घुम्ने कुर्सीमा बसिरहेका उनी दुबै खुट्टा टेबलमाथि राखेर मस्त निद्रामा थिए । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा पंखा घुमिरहेको थियो । पंखाको हावा खाँदै उनी मस्त निदाएका थिए । कार्यालयका अन्य कोठाहरू पनि खाली थिए ।
कोठामा पंखा घुमिरहेका थिए भने कार्यालयका अन्य सामग्रीहरु यत्रतत्र छरिएका थिए । कार्यालयमा रहेका टेलब कुर्सीमा कर्मचारी थिएनन् । केही मात्र थिए । उनीहरुकोपनि कामतर्फ कुनै ध्यान थिएन ।
यस सम्बन्धमा बुझ्नका लागि कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचन कुमार भण्डारीको मोबाइल नम्बरमा फोन गर्दा उनको सालोले फोन उठाए । भिनाजु अहिले हुनुहुन्न बाहिर जानु भाछ भन्ने जवाफ आयो ।
उनले कार्यालयको मोबाइल आफ्नो सालोलाई दिएका रहेछन् । उनी पनि आज कार्यालयमा अनुपस्थित थिए । यतिसम्मको लापरबाही यो एक प्रतिनिधि तस्बिर मात्र हो ।