
काठमाडौ । गायक प्रकाश सपूत फरक स्वाद पस्कने गायक तथा कलाकार हुन् । उनले शुक्रबार ‘कुरा बुझ्न पर्च’ बोलको तीज गीत सार्वजनिक गरे । जुन गीत महिला मैत्री छ । गीतले आईतबार दिउँसोसम्म १५ लाख भ्युज पाउँदै युट्युबको ट्रेन्डिङ १ मा पुगेको छ ।
आधुनिक युवतीको मनोविज्ञान र भविष्यको जीवनसाथीका बारेमा गीत केन्द्रित छ । गीतले युट्युबमा मात्र होइन् टिकटकमा पनि उत्तिकै चर्चा पाईरहेको छ । उनले गीतमार्फत महिला सशक्तिकरणको विषयलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् । जातिय छुवाछुत, महिला शसक्तिकरण तथा महिलाका ब्यक्तिगत समस्याका कुरालाई पनि गीतमा समेटिएको छ । महिलाहरुमा आत्मविश्वास बलियो हुनुपर्छ भन्ने गीतमा देखाउन खोजीएको छ ।
वर्तमान युवतीहरुमा कम्तिमा यत्तिको आत्मविश्वास हुनु जरुरी छ भन्ने दृष्टिकोण पेश गर्न खोजेको भन्दै आफूले दिन खोजेको विषयहरुलाई स्रोता एवं दर्शकले बुझेकोप्रति उनले खुसी ब्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘हामीले छुन खोजेका केही विषयहरुलाई धेरै जनाले मज्जाले नोट गर्नुभएको रहेछ । युवतीहरुको केही प्राकृतिक सुन्दरता र स्वभावहरुसहित लैङ्गिक स्वतन्त्रता, आत्मनिर्भरता, आत्मसम्मान र हक अधिकारका कुरा देखाउन खोजेका छौं । जातिय सहिष्णुता र मित्रतालाई पनि कतै–कतै झल्काउन खोजेको सबैले बुझ्नु भएछ ।’
उनले दर्शकहरु सचेत हुँदै जानु नेपाली कला, साहित्य र संगीतका लागि खुसीको कुरा भएको बताएका छन् । उनले अगाडि लेखेका छन्–‘दर्शक सचेत भए भने एउटै सिर्जनालाई विचारका रुपमा सम्प्रेषण पनि गर्न सकिन्छ । वस्तुका रुपमा व्यापार पनि गर्न सकिन्छ ।’
प्रकाश सपूतको शब्द, संगीत रहेको ‘कुरा बुझ्न पर्च’मा शान्तीश्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतको भिडियोलाई प्रकाश स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा नायिकाद्धय स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय गरेका छन् ।