बुधबार ०६ आश्विन २०७८

काठमाण्डाै – ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले शरणार्थी नागरिकका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका छन् । उपाधिको छिनोफानो भएसँगै हिजाे भएको कार्यक्रममा उनले आफूले जितेको रकमबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् ।

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा पाएको दु:ख कष्ट सम्झँदै उनले उपचार नपाउँदा हजुरआमालाई गुमाएको भन्दै एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने – ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’

उनले बिरामी भएका बेला एम्बुलेन्सलाई घण्टौँ कुर्नु पर्ने बाध्यता रहेकाले धेरैले उपचार नपाउने गरेको पनि बताएका छन् । विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै उनले भनेका छन् : ‘ट्रफी त लैजान्छु नै । जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिन्छु ।

अनि जितेकाे पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र पैसा बाँकी रहे को’रोना विरुद्धको खोप लगाउनबाट वञ्चित भएकाहरुलाई सहयोग गर्छु ।’एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनोफानो भएको हो ।

उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपालको उपाधि जितेका हुन्। किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् । अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी श’रणार्थी शिविरमा जन्मिएका हुन् ।

थप समाचार – किरण उनै हुन्, जो १० वर्षअघि सन् २०११ मा सपरिवार अमेरिका गएका थिए । किरणका बा, हजुरबा हजुरआमा भने सन् १९९३ मा नेपाल आएका थिए, भुटानी शरणार्थी बनेर ।

शरणार्थी शिविरमै किरणका बाआमाको विवाह भयो । किरण यतै जन्मिए ।अहिले त किरण अमेरिकाको बासिन्दा बनिसकेका छन् । बाल्यकाल भने नेपालमै बिताए । बाँसको फक्ल्याँटोले बारेको घर, चुहिने छानोमा ओत लागेर सकियो उनको बाल्यकाल ।त्यही बाल्यकालमै किरणले संगीतको सुर सिके ।

गलालाई तिक्खर बनाउने कोसिस गरे । ‘त्यसवेला हामीसँग केही थिएन, आफैँ सिक्थेँ, आफैँ गाउँथेँ,’ किरण सुनाउँछन् ।अमेरिका पुगेको ११ वर्षपछि उनी रियालिटी सोमा भिड्न नेपाल आए । नेपाल आएर झापा गए, जहाँ उनको बाल्यकाल बितेको थियो । तर, त्यहाँ त सबथोक परिवर्तन भइसकेको रहेछ ।

पहिला टुकीको उज्यालोमा पढ्थे, बत्ती आइसकेछ । बाँसको फक्ल्याँटोले बारेका घरहरू थिए, जस्तापाता आइसकेछ । माटोले लिपेको भुइँ थियो, सिमेन्टको कंक्रिट बनिसकेछ । किरण बसेको शिविर र घर भएको ठाउँ त जंगल बनिसकेछ । ‘अस्ति जाँदा मलाई घरै ठम्याउन गाह्रो भयो ।

हामी बसेको ठाउँ त जंगल बनिसकेछ । धन्न सुपारीको रूख ढलेको रहेनछ र पत्तो लगाएँ,’ किरण सुनाउँछन्, ‘नेपालको माटोको गन्धसँग परिचित छु । गाउँघरको याद आउँछ । त्यही भएर पनि सुपारीको रूख देख्नासाथ चिन्न सजिलो भयो ।’उता भुटानमा पनि किरणको टन्न जग्गा थियो ।

त्यहाँ सुन्तला लटरम्म फल्थे । बस्तुभाउ थिए । किरण त यतै जन्मिए, तर उनका बाआमा, हजुरबाहरू भुटानको आफ्नो जग्गाबारे कुरा गरिरहन्छन् ।‘एकपटक जान पाए हुने’ भन्ने इच्छा प्रकट गरिरहन्छन् । तर, तत्काल सम्भव छैन । उनी भन्छन्, ‘बाआमाको कुरा सुन्दा मलाई पनि जाऊँजाऊँ लाग्छ ।

आफ्नो माटोको माया त लागिहाल्छ नि ! यता काठमाडौंमा बस्दा पनि जहिल्यै झापा जाऊँजाऊँ लागिरहन्छ ।’भुटानबाट किरणको परिवारले केही लिएर आएको थिएन, जीउमा लगाएको कपडाबाहेक । भाग्दैभाग्दै आएका थिए । यतै आएर सानोतिनो टहरा ठडाए । पछि किरणको परिवार अमेरिका गयो, अरू शरणार्थीहरू पनि गए । बाँकी अझै शरणार्थी यतै छुटेका छन् ।

उनीहरू बाहिर जान पाउँदैनन् । न नेपालको नागरिकता छ । पहिला विविध संस्थाले रासन दिने गर्र्थे, अहिले आफैँ कमाएर खानुपर्ने बाध्यता रहेको किरणले यतै आएर थाहा पाए । ‘यस्तो अवस्था देख्दा एकदमै दुःख लाग्छ । आफ्नो भूमि छाडेर बाँच्नुपर्‍यो ।

अहिले न नागरिकता छ, न केही । त्यसरी नै धेरैवटा पुस्ता सकिँदै छ,’ किरण भन्छन् ।भुटानबाट लखेँटिँदा उनीहरूले माटो छाडे । भएको जग्गा–जमिन र सम्पत्ति छाडे । मुलुक छाडे । त्यही भाषा, संस्कृतिमाथिको लडाइँकै कारण आफ्ना पुर्खा भाग्नुपरेको किरणको गुनासो छ ।

‘तर, लखेटेर जहाँ पु¥याए पनि भाषा, संस्कृति त मरेको हुँदैन नि ?,’ किरणको प्रश्न हो यो ।उनले अमेरिका पुगेपछि महसुस गरे, धेरैले नेपाली भाषा बिर्सँदै छन् । संस्कृति, पोसाक बिर्सँदैछन् । उनीहरू आफ्नो पहिचानप्रति चासो राख्दैनन् । यसैले पनि आफूलाई नेपाली संगीतले तानिरहने बताउँछन् उनी ।

भन्छन्, ‘मेरो उमेरका धेरै साथीहरूले नेपाली भाषा बिर्सिसकेका छन् । पछि आउने पुस्ताले त झनै बिर्सनेछ । त्यसैले, संगीतको माध्यमबाट आफूले सकेको कोसिस गरूँ, भाषा, संस्कृतिबारे अवगत गराऊँ भनेर संगीतमा लागेको हुँ ।’संगीतप्रतिको किरणको अभिरुचि भक्तराज, बच्चु कैलाशलगायत दिग्गज गायकले निर्माण गरिदिए ।

झापाको शिविर बसाइका क्रममा उनका गुरुहरूमा पनि यिनै अग्रजका खारिएका स्वर र संगीतहरू थिए । साथमा थिए हजुरबा, जो मादल बनाउँथे । किरणलाई बजाउन सिकाउँथे । एल्बमको तयारीमा रहेका उनी भन्छन्, ‘जे सुनेर हुर्कियो, त्यसैको चाह र आदत बस्नेरहेछ । त्यसैले मलाई संगीतले नै फेरि नेपाल ल्याइदियो ।’

१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया