
काठमाडौं : आधुनिक फुटबलका एक महान खेलाडी चर्चितत अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनाले विज्ञप्ति जारी गर्दै क्लबसँग नयाँ सम्झौता नभएको र मेस्सीले बार्सिलोना छाड्ने जनाएको हो।
यसअघि मेस्सी र क्लबबीच पाँच वर्षको करार सम्झौता गर्ने सहमति भएको थियो । ३४ वर्षीय खेलाडीले आफ्नो तलब ५० प्रतिशत कम गरेर क्लबसँग नयाँ करार गर्ने बताइएको थियो । तर, यसका बावजुद क्लबको आर्थिक अवस्थाका कारण उनलाई नयाँ सिजनका लागि दर्ता गर्न असम्भव देखिएको हो ।
लियोनेल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएपछि अब उनको अर्को गन्तव्यको बारेमा चर्चा सुरु भएको छ । चर्चित क्लबहरुले उनलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास सुरु गरेका छन् । फ्रान्सको पेरिस सेन्ट जर्मेन र इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले लामो समयदेखि मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउने इच्छा देखाईरहेका छन् ।
म्यानचेस्टर इभिनिङ न्यूजसँग कुरा गर्दै क्लबका चिफ अपरेटिङ अफिसर ओमार बेराडाले क्लबसँग मेस्सीलाई अनुबन्ध गर्ने स्रोत रहेको बताएका छन् । यद्यपि, हालै ज्याक ग्रिलिसलाई १० करोड पाउन्डमा खरिद गरेको र अझै ह्यारी केनलाई पछ्याइरहेको सिटीले मेस्सीलाई अनुबन्ध गर्छ या गर्दैन भन्ने चाहिँ हेर्न बाँकी छ ।
आइसिसी विश्वकप क्रिकेट टोलीको अभ्यास सुरु
सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ । वर्षायाममा मौसम प्रतिकूल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन ।
यसअघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान)ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसमा गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । पूर्वकप्तान पारस खड्काले सन्न्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ । दुई दिनअगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बोलाइएका सबै खेलाडी बिहीबार मात्र प्रशिक्षणमा उपस्थित भएका हुन् ।
राष्ट्रिय क्रिकेट टोलीले बिहानको सत्रमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिटनेस प्रशिक्षण गरेका थिए भने दिउँसो कीर्तिपुर मैदानमा प्रशिक्षण गरेका छन् । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् ।
लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।