मंगलबार १२ आश्विन २०७८

काठमाडौं : ललितपुरको कुपन्डोल हाइटमा समिट होटल भत्काएर नेपालकै नमुना पाँचतारे होटलसँगै अपार्टमेन्ट निर्माण हुने भएको छ । चार तारे होटल समिटलाई भत्काएर उक्त क्षेत्रमा विलासी अपार्टमेन्ट सहितको पाँचतारे होटल निर्माणको अन्तिम तयारी गरिएको हो। ‘द समिट होटल एन्ड रेसिडेन्सी’ नामकरण गरिएको परियोजना काठमाडौं सहरका उच्चवर्गलाई लक्षित गर्दै निर्माण गरिनलागेको यसका लगानीकर्ताले बताएका छन्।

समिट होटलमा व्यवसायी अमृतरत्न शाक्यसँगै चौधरी ग्रुप र रविभक्त श्रेष्ठको एनई ग्रुपको संयुक्त लगानी छ।एनई र सीजीले २०७१ चैतमा समिटको ६० प्रतिशत स्वामित्व खरिद गरेका हुन् भने ४० प्रतिशत सेयर स्वामित्व शाक्यको छ।१८ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा अहिले ८६ कोठा छन्। समिट होटलका सञ्चालक अमृतरत्न शाक्यले आधुनिक पाँचतारे होटलसँगै रेसिडेन्सी निर्माणको तयारी गरिरहेको जानकारी दिए।

‘१८ रोपनी जग्गा रहेको छ । त्यसलाई बुटिक होटल नै राख्न पाएको भए राम्रो हुन्थ्यो’, शाक्यले भने, ‘रुख, खुल्ला ठाउँसहित होराइजेन्टल डिजाइनमा समिट होटललाई निरन्तरता दिन सकेनौँ ।’ को’रो नाको कारण व्यावसाय अति प्रभावित हुँदा अर्को ४/५ वर्ष पर्यटन क्षेत्र राम्ररी फस्टाउने नदेखेपछि बुटिक होटललाई ‘हाइराइज फाइभ स्टार होटल’ र अपार्टमेन्ट बनाउने निष्कर्षमा लगानीकर्ता पुगेका हुन्।

समिट होटललाई होराइजेन्टल डिजाइनबाट भर्टिकल डिजाइनमा लैजान खोजिएको छ। यसको मतलब पहिला साना भवन थिए भने अब अग्ला भवन निर्माण हुनेछन्। साना भवनले धेरै क्षेत्र ओगट्दा व्यावसायिक रुपमा धेरै फाइदा लिन नसक्ने देखिएपछि अग्ला भवन बनाउने योजना बनाइएको लगानीकर्ताको भनाइ छ। ‘काठमाडौं सहरको मुटुमै १८ रोपनी जग्गा राख्नु गहना जस्तो मात्रै भयो’,शाक्य भन्छन्, ‘विभिन्न प्रकारको सम्भाव्यता अध्ययन गरेर १५/१६ तल्लाको भर्टिकल डिजाइनमा गयो भने इकोनोमिकल्ली भाएबल हुने देखिन्छ।’ एनई ग्रुपको तर्फबाट द समिट होटल एन्ड रेसिडेन्सीको तयारीमा संलग्न सञ्चित श्रेष्ठले पुरानै लगानीकर्ताबाट रकम थप हुने बताए। नेपालखबरबाट

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया