समाचार

काठमाडौंमा भाडा नदिएको भन्दै घरभेटीले निकालेपछि सडककै बास

काठमाडौँ । शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो । ‘मनमा कुरा खेलिरहन्छ, निद्रा लाग्दैन,’ सरस्वतीले कान्तिपुरसँग भनेकी थिइन्, ‘कोठामा सबै थोक छ, तर घरभेटीले ताला लगाइदिएका छन्, कहिलेकाहीं बस्न दिन्छन् कि भनेर जान्छौं, भाडा तिरेपछि मात्रै ढोका खोलिदिन्छु भन्छन् ।’

सरस्वतीको परिवार आइतबार पनि आफ्नो कोठामा छिर्न पाइन्छ कि भनेर गएको थियो । तर घरभेटीले भाडा नतिरेसम्म पस्नै नदिने बताएपछि उनीहरू दिनभरि लगनखेलमै टहलिए र साँझ परेपछि पाटन अस्पताल अगाडिको फुटपाथमा सुत्न पुगे । आइतबार राति ९ बजेतिर हामी पुग्दा उनीहरू सुतिसकेका थिए तर निदाएका थिएनन् । भोको पेट र चिसो छिँडीमा निद्रा पर्न चानचुने कुरा होइन ।

गोविन्द र सरस्वतीको बाल्यकाल लगभग उसैगरी बितेको हो । उनीहरू दुवैलाई आफूहरू कति वर्ष हुँदा आफ्ना अभिभावक गुमायौं भन्ने याद छैन । सरस्वती घरेलु कामदार र गोविन्द ज्यालादारी मजदुरकै रूपमा हुर्किए, कहिल्यै मागेर खाएनन् । तर गत चैतमा लकडाउन सुरु भएपछि उनीहरूको आम्दानीको स्रोत गुम्यो ।

भाडा तिर्ने पैसा त के, खाने अन्नसम्म बाँकी रहेन । ‘पहिले दुई जना बूढाबूढीको गरेर ८/१० हजार आम्दानी हुन्थ्यो, खान ठिक्क पुग्थ्यो,’ गोविन्दले भने, ‘अहिले न काम पाइन्छ न खान, राति बाटोमा सुत्दा चिसो हुन्छ, छोराको ज्याकेट निकाल्छु भन्दा पनि घरभेटीले ढोका खोलिदिएनन् ।’

नागरिकताको ठेगानामा उनीहरूको घर काभ्रेको पनौती भनिए पनि त्यहाँ खुट्टा टेक्ने जमिनसमेत छैन । नागरिकताको फोटोकपी भने गोविन्दले ज्याकेटको गोजीमा सुरक्षित राखेका छन् । कुनै न कुनै दिन काम पाइएला र जिन्दगी उसैगरी चल्ला भन्ने आशा यो दम्पतीसँँग छ ।

‘कसैकसैले काम दिँदा नागरिकता पनि खोज्दा रैछन्, त्यही भएर बोकेरै हिँँड्छु,’ गोविन्दले भने । उनले गोजीमा प्लास्टिकले बेरेर राखेको नागरिकताको फोटोकपी निकाल्दा सँँगसँँगै त्यहींबाट अर्को कागज पनि निस्कियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Related Articles

Back to top button
Close