मंगलबार १२ आश्विन २०७८

अमेरिकी लेखक एवं युट्युबर नेल्सन डेलिसले आफू नेपालका विजय शाहीबाट ठगिएकाे बताएका छन् । अमेरिकामा मेमोरी किङ भनेर चिनिने डेलिसले कालीकाेटका युवा विजय शाही अरूलाई मूर्ख बनाउने व्यक्ति भएकाे टिप्पणी गरेका छन् । हिजाे राति ८ बजेतिर आफ्नो अधिकारिक युट्युब च्यानलमा भिडियाे अपलाेड गरेका नेल्सनले भनेका छन्, ‘विजय शाहीबारे याे अन्तिम भिडियाे हाे । अबदेखि म उसकाे बारेमा कुनै भिडियाे बनाउने छैन ।’

आफूलाई मेमाेरी किङ दाबी गर्ने शाहीकाे अनुराेधपछि नेल्सनले केही दिनअघि उनकाे अन्तर्वार्तासहित स्मरण शक्तिकाे परीक्षा लिएका थिए । भिडियाे तयार हुँदासम्म शंकारहित देखिएका नेल्सनले नेपालमा अनेक टिप्पणी हुन थालेपछि अर्काे भिडियाे बनाएर शाहीलाई ‘फेक’ भनेका हुन् । शाहीले नेल्सनसँग छलछाम गरेकाे भिडियाे नेपाली युट्युबरहरूले बनाएका थिए । पछिल्लाे भिडियाेमा नेल्सनले भनेका छन्, ‘भिडियाे खिच्दाखिच्दै मसँग शाहीले ठगी (स्क्याम) गरे ।’

नेपाल एक सुन्दर देश हाे । यस्ताे ठग्ने व्यक्ति नेपालले नपाउनुपर्थ्याे । विजय शाहीले नेपालीहरूलाई पनि मूर्ख बनाएका छन्’, उनले भनेका छन्, ‘मलाई पनि उनले ठगे । अब उनीबारे कुनै चर्चा गर्ने वा भिडियो बनाउने काम गर्दिनँ ।

नेल्सनले नेपालमै आएर शाहीकाे परीक्षा लिएका थिए । त्यस क्रममा शाहीले आफूलाई कालीमाताको वरदान छ भनेका थिए ।यसअघि कहिले गिनिज बुकमा नाम लेखाएको त कहिले नासा पुगेर आएको भन्दै शाहीले युट्युबरलाई अन्तर्वार्ता दिने गरेका थिए ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया