बिहिबार ११ कार्तिक २०७८

सरकारले लामो दुरीमा चल्ने सवारीको भाडादर बढाएको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । ​

पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार बनाएर तीन क्याटागोरीमा भाडा बढाइएको हो । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको छ ।

जसमा सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत,पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ ।

त्यस्तै विद्यार्थीको धर्ना

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् । मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन ।

नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेता आज बिहान साँढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका हुन् । डिपो प्रमुख अभिषेक ठाकुरले विद्यार्थीको धर्नाका कारण ढुवानी रोकिएको बताउनुभयो । “आज कार्यालय समय शुरु भएसगैँ उहाँहरु डिपो गेटमा धर्नामा बस्नुभएको छ । अधिकांश पम्पले मङ्गलबार साँझ नै पेट्रोलिमय पदार्थकोे ढुवानी गरिसक्नुभएको छ । तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन । उहाँहरु धर्नाबाट निस्कनासाथ ढुवानी पुनः शुरु गछौँ”, उहाँले भन्नुभयो ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले विद्यार्थीको आन्दोलनले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाका केही पम्प बन्द भएको जनाएको छ । आज बिहान उपत्यकाका केही स्थानमा सञ्चालित पेट्रोल पम्पमा पाँच विद्यार्थी सङ्गठनले केही पम्पको सटर लगाएर बन्द गराए तापनि अधिकांश पम्प खुला नै रहेको एशोसिएशनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार स्कुल तथा कलेज नजिक रहेका पम्प विद्यार्थीले बन्द गराए पनि अन्य स्थानमा सञ्चालित पम्प खुला रहेको छ ।

२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया