बुधबार २० साउन २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा पदभार ग्रहण गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन्।

शर्माले बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् । कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उनले बताए ।

सरकारले खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका छन् ।

उनले महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए । साथै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्विकृति गरेका छन् । स्वास्थ्य मन्त्रालयले अर्थलाई पेश गरेको ३ वटा फाइल उनले सदर गरेका छन् । स्वास्थ्यले स्वास्थ्यकर्मीहरुको जोखिमभत्ता तथा आइसियु एचडियु थप्न थप रकम प्रस्ताव गरेको थियो ।

यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका हुन् । ऊर्जा मन्त्रीको रुपमा उनको कार्यकाल स्मरणयोग्य रहेको छ ।

चर्को विद्युत्भार कटौतीको मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन प्रभावकारी कदम चालेका थिए । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर रहेका शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा प्रभावशाली नेता हुन्।

११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया