News

प्रधानमन्त्रीले नै इच्छा नदेखाएका कारण कुलमान प्राधिकरणवाट विदा हुँदै

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली उनलाई फेरी दोहोर्याउने पक्षमा नरहेका कारण कुलमानको पुन नियुक्ति नहुने संकेत देखिएको छ । २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको कार्यकाल आइतवार राति १२ बजेदेखि सकिने भएकाले अब प्राधिकरण नेतृत्व विहिन हुने भएको छ ।

आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाएका कुलमान घिसिङलाई पुन नियुक्त गर्नुपर्ने माग सर्वसाधारणले गरेका छन् । सामाजिक सञ्जालमा कलाकारहरुले समेत अभियान सुरु गरेका छन् । अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व कुलमानलाई दिन सरकारमाथि जनदबाब बढेको भएपनि प्रधानमन्त्री ओली अनिच्छुक देखिएकाले उनको सम्भावना कम भएको हो । सोमवार बस्ने मन्त्रिपरिषद्को बैठकमा कुलमानलाई बिदाई गर्ने पक्का भएको छ ।

यद्यपि प्रधानमन्त्री ओलीले चाहेमा सरकारले कुलमानलाई फेरि पनि प्राधिकरणको नेतृत्व दिन सक्ने भएपनि ओलीले नै नचाहेका कारण सम्भव नभएको हो । प्रधानमन्त्री मात्र होइन

ऊर्जामन्त्री वर्षमान पुन पनि कुलमानलाई पुन नियुक्त गर्ने पक्षमा देखिएका छैनन् । तर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबका कारण मन्त्री पुन घिसिङको नाम प्रस्ताव गर्न राजी भएको भएपनि प्रधानमन्त्री ओलीले नै इच्छा नदेखाएका कारण उनको सम्भावना नभएको हो । आइतवार कार्यकाल सकिदा सम्म पनि कुलमानको नाम मन्त्रिपरिषदमा पुगेको छैन ।

दैनिक १८ घण्टाको लोडशेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्‍याउन माग गरेका छन् ।

२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गरेका घिसिङलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएर विद्युत् प्राधिकरणमा कामविहीन अवस्थामा राखेकी थिइन् । तर पछि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

Related Articles

Back to top button
Close