बिहिबार ०७ आश्विन २०७८

काठमाडौं २९ असार एमाले संस्थापनले वरिष्ठ नेता माधवकुमार नेपाललाई सहजै पार्टीमा फर्कन नदिने रणनीति लिएको छ । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेको भन्दै नेपाललाई सजिलै पार्टीमा फर्कन नदिने तयारी गरेको हो । नेता नेपालले निर्वाचनमा आफूले पराजित गरेको प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेर एमाले नेता, कार्यकर्ता र समर्थकको शिर निहु¥याउने काम गरेको आरोप ओली पक्षको छ ।

प्रधानमन्त्रीमेत रहेका ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले विपक्षीको वैशाखी टेकेर हिंडेका नेता नेपालले महाधिवेशनमा भोगेको हारको बदला लिएको टिप्पणी गरे । नेपाल शेरबहादुरको वैशाखी र प्रचण्डको चाकडीमा लागेको आरोप लगाउँदै भट्टराईले त्यस्तो प्रवृत्तिको आयु लामो नहुने बताए ।

नेपालसँग विचार र आन्दोलनप्रतिको निष्ठन नरहेको आरोप उनको थियो । ‘माधव नेपाल आफूले जीवन बिताएको आन्दोलन र पार्टीलाई सखाप पार्छु भनेर प्रतिक्रियावादी, विरोधी, हिजो प्रतिस्धर्पामा आफूले पराजित गरेका शक्तिसँग आफ्नो कुण्ठाका लागि, हारेको मान्छे अध्यक्ष हुन पाइन भनेर, प्रधानमन्त्री हुन पाइन भनेर अरुसँग याचना गरेर वैशाखी टेकेर हिंडिरहनु भएको छ’, एक भिटी अन्तर्वर्तामा भट्टराईले भने, ‘आफ्नो अवसर र स्वार्थका लागि जोसँग पनि, जस्तोसँग पनि गठजोड र घाँटी जोड्दै हिंड्नुभएको छ ।’ भट्टराईले पार्टीभित्र माधव नेपालका पक्षमा कोही नभएको समेत जिकिर गरे ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापना गर्दै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै ओली र उनको समूह नेपालप्रति आक्रोशित भएको हो । प्रधानमन्त्री ओलीले आफूले संविधानको धारा ७६ (४) अनुसार संसदबाट विस्वासको मत लिन नसक्ने भन्दै ७६ (५) अनुसार स्वतन्त्र सांसदको नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढाउन गत ६ जेठमा राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

ओलीको सिफारिसमा राष्ट्रपतिले ७ जेठमा विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्न २३ घण्टाको समयसीमा तोकिन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका थिए । भट्टराईले उक्त कार्य माधव नेपालको कुण्ठा र स्वार्थ भएको टिप्पणी गरे ।

योसँगै एमाले कार्यदलले आइतबार सार्वजनिक गरेकोे १० बुँदे सहमति कार्यान्वयनमा अन्यौलता उत्पन्न भएको छ । तर, नेता नेपालले भने सर्वोच्चबाट संसद पुनस्र्थापना भएसँगै विपक्षी गठबन्धन छाडेर पार्टी एकताका लागि अघि बढ्ने घोषणा गरेका छन् । तर, ओली पक्ष भने विपक्षी गठबन्धन निर्माण गरेर आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढाल्ने गतिविधिप्रति माफी नमागेसम्म पार्टीमा फर्कन नदिने रणनीतिमा छ ।

a

१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया