बाइक जोगाउन खोज्दा विवाहको ६ महिनामै सिन्दुर पुछियो
बुटवल । भदौको १७ गते आएको बाढी पहिरोमा परि बागलुङ निवासी नविन भण्डारीको ज्यान गएको छ । उक्त बाढीमा परेर ज्यान गुमाउनेमा ४१ जना मध्य एक थिए २५ वर्षीय नविन पनि । गएको फाल्गुनमा बिबाहकालागी घर आएका थिए नविन । पर्वतकी एक युवतीसंग प्रेमसम्बन्धमा रहेका नविनले आएकै महिनामा आफ्नी प्रेमीकासंग बिबाह पनि गरे ।
कोरोनाको कारण घरमै बसिरहेका भण्डारी १७ गते दिउँसोतिर साथीहरुसँग घुम्न भन्दै निस्किएका थिए । केही साथी भाइसहित उनी सोही दिन बुर्तिबाङ्ग घुम्न गएका थिए । परिवारीक श्रोतका अनुसार उनीहरु वुर्तिबाङ्ग हुँदै रुकुमसम्म पुग्ने थियो । रुकुम जाने क्रममा सडकमा पहिरो आएका करण फर्किएका उनीहरु बुर्तिबाङ्गबाट ढोरपाटनतिर लागेका थिए ।
नविन लगाएत उनका साथीहरु ढोरपाटनको कुनै एक पसलमा बसिरहेको समयमा पसल भित्र एक्कासी पानी परेको पसल सञ्चालक मदन विकले बताए । विकका अनुसार ‘एक्कासी पसलभित्र पानी पस्यो । बाहिर हेरेको माथिका घरहरु बगिरहेको थियो । मानिसहरु चिच्चाएको देख्यौं । उहाँ भाइ (नवीन) ले आफ्नो बाइक चढेर माथिका मानिसहरुलाई बचाउन गए ।’
‘म पनि आफ्नो बाइक लिएर उहाँसँगै माथि गएँ,’ विक सम्झन्छन्, ‘फर्किने क्रममा उहाँ (नवीन) को बाइक बाढीले बगाउन आँट्यो । मैले बाइक छाड्नुस भने उहाँले मान्नुभएन । बाढी सुनामी जस्तो मुस्लो छाड्दै आयो । अन्ततः मेरो आँखै अगाडि बाइक र उहाँलाई भुजिखोलाले लगो ।’ ढोरपाटन नगरपालिका– ९ को वोबाङ्ग गाउँमा भदौँ १७ गते राती आएको भीषण बाढीपहिरोमा बगेर बेपत्ता ४१ जनामध्येका एक थिए नविन भण्डारी ।