बुधबार २० साउन २०७८

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मेस्सीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) को प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको हो । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वाेत्कृष्ट खेलाडीको अवार्ड बाँडेका छन् । समापन समारोहमा भने मेस्सीले मात्र अवार्ड ग्रहण गरे । कन्मेवलको छनोट समितिले दुई मध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले घरेलु टोली तथा साविकको विजेता ब्राजिललाई १–० ले हराउँदै २८ वर्षपछि कोपाको च्याम्पियन बनेको थियो । यस्तै मेस्सी पनि अर्जेन्टिनाबाट पहिलो उपाधि जित्न सफल भए ।

‘मेस्सी र नेयमार कसलाई सर्वाेत्कृष्ट बनाउने यो छान्न हामीलाई सहज थिएन । उनीहरु उत्कृष्ट खेलाडी हुन् । कोपामा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्,’ कन्मेवलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उनीहरुले प्रत्येक खेलमा प्राविधिक र रणनीतिक रुपमा उत्कृष्ट खेल पस्किएका छन् । उनीहरुकै उच्च प्रदर्शनमा दुवै टोली फाइनलमा पुग्न सफल भएका हुन् । सोही कारण उनीहरु दुवै कोपाको सर्वाेत्कृष्ट खेलाडी हुन् ।’ कन्मेवलको विज्ञप्तिमा उल्लेख छ ।

मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए । मेस्सी र कोलम्वियाका लुइस डियाजले समान ४ गोल गरेका थिए । असिस्टमा मेस्सी अघि रहेकाले उपाधि जिते ।

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया