News

काठमाडौंमा जताततै कोठा र सटर खाली

२६ भदौ, काठमाडौं । कोरोना महामारीअघिको अवस्थामा काठमाडौंमा खाली कोठा फेला पार्नु दुर्लभ घटना हुन्थ्यो । तर अहिले काठमाडौंका प्रमुख शहरी क्षेत्रमै कोठा खाली भएको प्रशस्त देख्न सकिन्छ ।

कोठा भाडामा बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ । कोरोना संक्रमणका कारण ४ महिना लामो लक डाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन् ।कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन् ।

यहीँ भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ । होटल, रेष्टुरेण्ट, होस्टलदेखि अधिकांश व्यवसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् ।

कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि कोठा खाली भएका धेरै सूचनाहरु घर, पसल र सार्वजनिक स्थलमा टाँसिएको देखिन्छ ।

काठमाडौं अनामनगरका एक घरधनी हरिप्रसाद पराजुली उपत्यका भरी नै एकनासको समस्या रहेको बताउँछन् । अनामनगर क्षेत्रमा मात्रै नभएर उपत्यका भरी नै सटर र फ्ल्याटहरु ठूलो संख्यामा खाली भएको उनको भनाइ छ ।

कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले लक डाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताए ।

अहिले काठमाडौँका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ । भाडामा बस्नेहरुको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ । कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या देखिएको छ ।

Related Articles

Back to top button
Close