समाचार

आकासियो आलुको मूल्य, कति पुग्यो ?

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवा बुङकुलुङ भोटेगाउँका क्रिक्या शेर्पाले भदौ दोस्रो साता सुवास आचार्यलाई ९० किलो आलु बेचे ।

घरमै आएका उनलाई प्रतिकिलो ८० रुपैयाँमा दिए । उसिनेर खान मिल्ने किसिमका ठुल्ठूला दाना आलु पाएका आचार्य सदरमुकाम फुङलिङको तोक्मेडाँडामा प्रतिकिलो एक सय रुपैयाँ पुगेपछि खरिदका लागि यहाँ पुगेका थिए ।

नजिकैको सदरमुकाममा किलोको २० रुपैयाँ बढी भएपछि क्रिक्याले पनि भदौ तेस्रो सातादेखि आलुको मूल्य बढाएका छन् । गाउँसमाजमा सबैले बजार मूल्यअनुसार बेच्नुपर्ने बताएपछि समान बनाइएको उनले बताए । ‘घरमै आउनेलाई एकदुई पैसा त कम भइहाल्छ नि,’ उनले भने, ‘तर यति नजिकै किलोकै २० रुपैयाँ धेरै नै फरक भयो ।

त्यसैले एक सय नै भन्न थालेका छौं ।’ आलुको पकेट क्षेत्र बुङकुलुङको दूरी सदरमुकाम फुङलिङबाट नौ किलोमिटर छ । ८ किलोमिटर पक्की सडक छ । एक किलोमिटर मात्रै कच्ची छ ।

आलुको मात्रै खेती हुने हिमाली क्षेत्रमा यति बेला धमाधम उत्पादन भइरहेको छ । सदरमुकाम फुङलिङकै माथिल्लो फेदी क्षेत्र, फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा, वडा नम्बर ७ ओलाङचुङगोला र याङमामा आलु उत्पादन हुन थालेको छ । यी क्षेत्रमा एक सिजनमा आलु र अर्को सिजनमा जौ, गहुँ, उवा, फापरलगायतको खेती हुन्छ ।

यो आलु खन्ने र थन्क्याउने सिजन हो । विदेशी पर्यटक आउने र उनीहरूले उपयोग गर्ने आलु पर्यटकीय क्षेत्रमा यो वर्ष खपत हुँदैन । कोरोना संक्रमणका कारण पर्यटक आउने सम्भावना छैन । कञ्चनजंघा हिमालको आधार शिविर क्षेत्रमा उत्पादित आलु स्थानीय आफैंले र पर्यटकका लागि प्रयोग गर्दै आएका थिए ।

कञ्चनजंघा क्षेत्रमा आउने १३ सय हाराहारीका विदेशी, उनीहरूसँगै आउने गाइड, भरिया, सबैको मुख्य तरकारी आलु खपत नभए पनि सदरमुकाम आसपासमा मूल्य अचाक्ली बढेको छ । विगतमा कात्तिक–मंसिरका बेला पर्ने मूल्य यसपाला भदौमै परेको स्थानीय बताउँछन् ।

उत्पादन घट्नु र लकडाउनका बेला बढी खपत हुनु मूल्यवृद्धिको मुख्य कारण भएको आलु पकेट क्षेत्रका पाशाङरिता शेर्पाको भनाइ छ । कान्तिपुर दैनिकमा आनन्द गौतम र विप्लव भट्टराईले खबर लेखेका छन् ।

Related Articles

Back to top button
Close