समाचार

समाजसेवामा दुर्गेश थापा, नायक पल शाहसँग मिलेर बाग्लुङको पहिरो पिडितलाई सहयोग गरे

काठमाडौं । एकपछि अर्को गर्दै विबादमा तानिएका गायक तथा मोडल दुर्गेश थापाले पनि समाजसेवाको काममा हात हालेका छन् । नारायण गोपाल र यम बरालको गीत भन्दै अन्य गायकको गीत गाएर विबादमा तानिएका दुर्गेशले आफ्नै गृहजिल्लामा राहात लिएर पुगेका छन् ।

गतहप्ता बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा बाढी र पहिरो जाँदा ठूलो धनजनको क्षति भएको थाहा पाए लगत्तै दुर्गेश सहित नायक पल शाह र उनको प्रतिष्ठानले राहात लिएर त्यसतर्फ गएका छन् । बाढी पहिरोबाट पीडित बनेका उनीहरुलाई पल शाहसहितको टीमले राहत प्रदान गर्न लागेको बताइएको छ ।

दुर्गेश र पलको टिमले करिब ३० देखि ४० परिवारलाई प्रति परिवार एक बोरा चामल, नुन, तेल दाललगायतका खाद्यान्न प्रदान गर्ने तयारी गरेको बताइन्छ । पल शाह प्रतिष्ठान, हाम्रो टिम नेपाल र दुर्गेश थापाको समूहले सो राहत प्रदान गर्न लागेको हो । यही भदौ १७ गते बुधबार बाग्लुङको ढोरपाटन नगरपालिकामा गएको सो बाढी पहिरोमा परेर ज्यान गुमाएका १४ जनाको शव पहिचान भएको छ भने अझै करिब २ दर्जन सर्वसाधारण बेपत्ता भइरहेको र उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ ।

त्यस्तै यसअघि नायक पल शाहको टिमले कालिकोट पुगेर पहिरो प्रभावितलाई सहयोग वितरण गरेका थिए । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा पहिरो पिडितलाई सहयोग गर्न त पल शाह काठमाडौंबाट कालिकोट पुगेर त्यहाँका ४० परिवार पहिरो प्रभावितलाई खाद्यान्न, बिस्तरा लगायतको सहयोग वितरण गरेको छ ।

नायक पल शाहले कालिकोट यात्रा क्रममा बाटोमा आफैंले खाना पकाएर खाएका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । बाढी पहिरोका कारण यात्रा कष्टकर भए पनि कालिकोटको पिडा महसुस गरेर सहयोग गर्न पुगेको बताए । कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो ।

Related Articles

Back to top button
Close