मंगलबार ०५ आश्विन २०७८

काठमाडौँ – नेपाल सरकारले नेपाल प्रहरीलाई नेपाली सेनाको अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच नेपाल सरकारको निर्देशनमा नेपाली सेनाले प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको हो ।

सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

मन्त्रिपरिषद्को गत जेष्ठ १७ गते बसेको बैठकले नेपाली सेनाले कुनै पनि मूल्य नलिइ विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा उपलव्ध गराउने निर्णय गरेको थियो ।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले जनाएको छ । उपलव्ध गराइएका हतियारको मर्मत तथा सञ्चालन तालिम समेत सेनाले नेपाल प्रहरीलाई प्रदान गर्ने जनाइएको छ ।

यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ । सो हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षामा उपयोगी हुने सेनाले जनाएको छ ।

सरकारले किन र कुन प्रयोजनका लागि उक्त हतियार उपलब्ध गराएको भनेर जानकारी गराइएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले दोश्रो पटक संसद विघटन गरेपछि सरकारलाई अदालतले धक्का दिइरहेको छ । प्रतिनिधिसभा विघटन बारेको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ ।

अदालतलाई धम्की दिनका लागि प्रहरीलाई हतियार दिएको यस क्षेत्रका जानकारहरुको भनाई छ । सर्वोच्च अदालतले पुनः संसद विघटन बदर गरेको खण्डमा देशमा संकटकाल लगाउने तयारी स्वरुप हतियार हस्तान्तरण गरिएका जानकारहरु बताउँछन् । नेपाली सेना फिल्डमा नआएको खण्डमा प्रहरीबाटै आन्दोलन दवाउन सकिने सरकार पक्षको बुझाइ छ ।मोटिभेट न्यूज बाट

२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया