शनिबार १५ माघ २०७८

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बैठकले आज मंगलबारदेखि २५ सिट भन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सुचना अधिकारी कल्पना घिमिरे नेपालले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दिइन् । उनले भनिन्, “मंगलबारदेखि २५ सिट भन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरिएको छ । उक्त सवारीमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।”

आजबाट काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन हुनेछन् । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ ।

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।

४३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया