बुधबार ०५ माघ २०७८

ओलीले केही गरे नि छाड्दैनन्। दिनै परे कि त राजालाई दिन्छन्, कि त सैनिक शासन लाउँछन्।”बच्चा बेला टाउकोमा सर्पले बेरेर नि बाँचेको मान्छे रे। ठूलै खड्गो काटेका छन्। ओलीलाई सितिमिती कसैले हल्लाउन सक्दैनन्। उनको ग्रह बलियो छ।’

उदयपुर जिल्लाको कटारी नगरपालिकामा छु। केपी ओलीले संसदमा विश्वासको मत नपाएको साँझ एउटा घरको आँगनमा केही मानिसहरू ओलीको चालबारे अड्कलबाजी गर्दै अनेकन किस्सा सुनाउँदै थिए। तीन ठूला दलहरूबारे सबै विरक्त थिए।आजीवन नेपाली कांग्रेसको सदस्य रहेका एक वृद्ध भन्दै थिए, ‘देउवाले कांग्रेस नि सिध्याए। बिपी, गणेशमानहरूले हुर्काएको कांग्रेस यत्तिकै मासिएर जाने भयो।’

प्रचन्डलाई हजारौंको ज्यान लिएको श्राप लागेको छ। इमानमा अडिएको भए त्यो श्रापलाई जित्न सक्थे। आफ्नो मति भ्रष्ट बनाएर हजारौंको सपना कुल्चिए,’ अर्का एक अधवैंसे सुनाउँदै थिए।

वैशाख महिना आफैं तातो थियो। त्यसमाथि काठमाडौंको राजनीतिक प्रहसनले गाउँगाउँमा झनै गर्मी बढाएको थियो। देश राजनीतिक खिचातानी र कोभिडको महामारीसँग जुधिरहँदा गाउँका मेरा छिमेकी र आफन्तहरूका आफ्नै समाचार र पीडाहरू थिए।

खडेरी परेर भर्खर रोपेको मकै र हिउँदे धान ओइलाएको थियो। गोडमेल गरेको मकैको बोटलाई अमेरिकी फौजी कीराले सोत्तर बनाएको थियो। रासायनिक विषादी लगाउँदा खडेरीमा बोटै मर्छ। तर पनि केहीले खतरा मोलेर विषादी छर्किए। अरूले सूर्तिको झोल बनाएर बोटभरि छर्किए।

आजभन्दा बीस वर्षअगाडि तीस मुरी मकै फल्ने बारीमा आज जसोतसो तीन मुरी मात्र फल्छ। जोतेको, रोपेको, गोडमेल गर्न खेतालालाई लगाएको खर्च पनि राम्रोसँग उठ्दैन। स्थानीय बीउ छरौं, कीराले भुसुक्कै पार्छ। फसल पनि राम्रो दिँदैन।

पहिले गोबरको मलले राम्रो काम गर्थ्यो। अचेल त युरिया नछरी सुख्खै छैन। हरेक वर्ष उब्जनी घट्दै गएको छ। पहिले आफूलाई पुगेर बेच्न पनि भ्याउने धेरैले अचेल अन्न किनेर खानु परेको छ।

यिनै यथार्थहरूको माझमा काठमाडौंमा निषेधाज्ञा सुरू भएपछि करिब दुई महिना आफ्नो गाउँमा छु। एसएलसी सकेर काठमाडौं हिँडेपछि आफ्नो घरमा यति लामो समय बस्ने अवसर जुरेको थिएन।

गाउँ गएको करिब एक हप्तामा बाल्यकालको मिल्ने साथीले व्यंग्य गर्दै भन्यो, ‘गाँठ (पैसा) कमाउन आफ्नो ठाउँ छोडिहाल्यौ। कोरोनाले ठीक गरेछ यसपालि। अब आफ्नो गाउँ पनि हेर।’

म झल्यास्स भएँ। काठमाडौं बरालिने क्रममा आफ्नै ठाउँ हेर्न बिर्सिएछु। शिक्षा र अवसरको खोजीमा आफ्नो उमेरको आधा समय काठमाडौंमा बितेछ। दसैं, तिहार र बेलामौकामा तीन-चार दिन आउने बाहेक अरू बेला घर बस्न समय मिलेको थिएन।

बिदाको बेला मात्र घर पुग्ने मैले आफ्नो गाउँलाई एक पर्यटकका रूपमा मात्र देखेछु। मेरा लागि आफ्नो गाउँ बिदा मनाउने र दुःख परेका बेला शरण लिने ठाउँ मात्र भएछ। गाउँकै एक सदस्यका रूपमा हेर्न भुलेछु।

बाल्यकालका अनुभवहरू सोच्दै जाँदा म झसंग भएँ। समुदाय र विद्यालयमा देखेको, सुनेको, भोगेको र सिकेको कुराले मलाई आफ्नै ठाउँबाट टाढा बनाएछ। मेरो परिवार र बाल्यकालमा हुर्काउने आफन्त र छिमेकीहरूबाट टाढा राखेछ।

बाल्यकालदेखि पढ्दै र सुन्दै आइयो- नेपाल सानो र गरिब देश हो। नेपालका गाउँहरू ‘विकास’ र ‘सभ्यता’ को मामिलामा झन् पछि परेका छन्।
शिक्षक र अग्रजहरूले उपदेश दिए- गाउँमा केही अवसर छैन। यहाँ बस्यो भने कुवाको भ्यागुतो मात्र भइन्छ। राम्रोसँग पढ्नुपर्छ र काठमाडौं जानुपर्छ। काठमाडौंबाट पनि छलाङ मारेर विदेश पुग्नुपर्छ।

कक्षा दसमा ‘देशप्रेम’ शीर्षकको विषयमा एउटा निबन्ध लेखेको थिएँ। असाध्यै माया गर्ने एक शिक्षकले सम्झाउँदै भनेका थिए, ‘अलिकति यसको स्तर घटाएर लेख्नू। नभए एसएलसीको कापी परीक्षण गर्नेले मोफसलको विद्यार्थीले लेखेको भनेर नपत्याउलान्। चिट चोरेको भनेर नम्बर नदेलान्।’मलाई अचम्म लागेको थियो, मेरो ठाउँलाई काठमाडौं जस्तो विश्वास किन नगरेका होलान् मान्छेहरूले?

हुन पनि हो, किताब पढ्दा र सामाजिक शिक्षा पढाउने शिक्षकको व्याख्यान सुन्दा लाग्थ्यो, काठमाडौं नेपालको महत्वपूर्ण ठाउँ हो। आफ्नो जिल्लाको मतलब थिएन, काठमाडौंको सबै कुरा थाहा हुनुपर्थ्यो- क्षेत्रफल, भूगोल, जनसंख्या, जात्रा।अधिकांश इतिहास भनेकै काठमाडौंबाट शासन गर्ने राजा र प्रधानमन्त्रीहरूको बहादुरी वा कायरताको कथा थियो। काठमाडौं उपत्यकाका दरबारहरूमा भएका हत्याकान्डहरूको इतिवृत्त थियो।

मेरो आमाबुवालाई आफू गाउँबाहिर निस्किन नसकेकोमा सधैं ग्लानी हुन्थ्यो।विद्यालयमा रिजल्ट आएको दिन जब म ‘फर्स्ट’ भएको खबर सुनाउन पुग्थेँ, उहाँहरू खिन्न मान्दै भन्नु हुन्थ्यो, ‘तँ कुनै सहर वा काठमाडौंमा हुनेखानेको कोखमा जन्मिनुपर्थ्यो। हाम्रो कोखमा जन्म लिइछस्। उतै भएको भए निकै प्रगति गर्थिस्।’बाल्यकालमा यो कुराले डर लाग्थ्यो- अग्रजहरूले तर्साएझैं कतै गाउँमै ‘भासिएर’ बस्नुपर्ने हो कि! जिन्दगी कतै यहीँ ‘सडेर’ जाने हो कि!

करिब दुई दशकपछि आफू हुर्किएको आँगनमा बसेर सोच्दै छु- हरेक दिन खेती-किसानी गरेर आफ्ना सन्तानलाई पढाउन खोज्ने आमाबुवाको आत्मविश्वास किन डगमगाएको थियो? उहाँहरूलाई किन निरिह महशुस हुन्थ्यो? इमानदार भएर सिकाउने शिक्षकलाई किन लागेको थियो कि आफ्ना विद्यार्थीलाई ठाउँकै आधारमा विश्वास गरिँदैन भनेर?

मेरो परिवारलाई दुई छाक खान नपुग्ने स्थिति थिएन। ‘उपल्लो’ जातले पाउने सम्मान थियो। जीवन निर्वाहकै लागि मेरोभन्दा सामाजिक र आर्थिक रूपमा बढी संघर्ष गर्नुपर्ने परिवारको आत्मविश्वास झन् कस्तो थियो होला?

आज लाग्दैछ, उपदेश दिने मेरा अग्रजहरू गलत थिएनन्। आफ्नै ठाउँप्रति हीनताबोध हुनु स्वभाविक थियो। किनकि राज्य त्यसरी नै चलेको थियो।काठमाडौं आफ्नो घेरामा यसरी मस्त थियो कि नारायणहिटी, बालुवाटार र सिंहदरबारबाट तीस-चालीस किलोमिटर दक्षिण हेर्ने फुर्सद पनि थिएन। त्यो भेगमा अझै कैयौं बालबालिकाले पढ्नका लागि घन्टौं हिँड्नेदेखि लिएर अनेकौं संघर्ष गर्नुपर्छ। काठमाडौंबाट टाढाका ठाउँहरूको कुरै छाडौं।

संघीयताको मुद्दा उठाउनेहरूको उद्देश्य सायद यही थियो– हरेक ठाउँलाई आफ्ना स्रोत र साधन प्रयोग गर्दै सबल र सम्पन्न बनाउने। हरेक ठाउँका मानिसहरूको जीवनको स्तर उकास्ने। स्थानीय आवश्यकताहरू सम्बोधन गर्ने।

देश संघीयतामा गइसक्यो। तर संघीय राजधानीको चमकधमक र चहलपहल हेर्दा लाग्छ- काठमाडौं बाहिर देश नै छैन। काठमाडौंमा भुइँचालोले ढालेको धरहरा छ वर्षमै झन् विराट स्वरूपमा उठ्न सक्छ। करिब १५ वर्षअगाडि भत्किएको मेरो गाउँ जोड्ने खहरेको दुइटा पुल अझै बनिसकेको छैन।

काठमाडौंमा २६ किलोमिटर टाढाको मेलम्चीको पानी सुरूङबाट आउन सक्छ। तर मेरो गाउँमा अन्न फलाउन एक किलोमिटर परको खोलाबाट पानी ल्याउन किसानहरूले बाह्रै मास संघर्ष गर्नुपर्छ। खोलाकै छेउमा आकाशे पानीको भर परेर बस्नुपर्छ।

सायद काठमाडौं घरको ‘बैठक कोठा’ जस्तै हो, भान्सामा खाने अन्न नभए पनि ‘बैठक कोठा’ चिरिच्याट्ट देखिनुपर्छ। किनकि ‘सूचना’, ‘ज्ञान’, ‘पैसा’ र ‘शक्ति’ उत्पादन गर्ने प्रबुद्ध भनिएका अधिकांश मानिस काठमाडौंमै बस्छन्।

मेरो गाउँ एउटा प्रतिनिधि ठाउँ मात्र हो। योभन्दा बढी संघर्षरत अरू धेरै ठाउँ छन्। आधारभूत चुनौतीहरूसँगै अनगिन्ती सम्भावना र अवसरहरू छन्।संघीयताको मर्म अनुरूपअगाडि बढ्ने हो भने अहिलेको बाटोमा केही बदलाव आवश्यक छ। हरेक क्षेत्रको नेतृत्व स्थानीय स्रोत, साधन र ज्ञानको उपयोग गर्दै उद्यमशील सोचका साथ समस्याको समाधान खोज्ने बाटोमा नगई सुखै छैन।यसका लागि बाटो देखाउने राजनीतिक नेतृत्वले नै हो।

काठमाडौं केन्द्रमा रहेर सयौं वर्ष शासन चल्यो। यसको धङधङी नेता र जनतामा हुनु अस्वाभाविक होइन। अहिले शासन गर्नेहरू र राजनीतिको मूलधारमा हुनेहरूले गाउँ र जंगल छाडेको दशकौं भइसक्यो। पक्कै पनि उनीहरूलाई सुख-सुविधा, सत्ताको लडाइँ र रमझममा साधारण जनताको दैनिकी थाहा हुँदैन। जनताको हरेक दिनको अनुभव र अनुभूतिबारे पत्तो हुँदैन। मिडियामा हेरेर वा किताब पढेर थाहा त होला तर महशुस हुँदैन।वास्तविकता नबुझ्ने र जनतालाई महशुस गर्न नसक्ने नेतृत्वले सही निर्णय लिनै सक्दैन।

यसका लागि राजनीतिक नेतृत्वलाई मेरो आग्रह छ– कम्तीमा एक हप्ता समाजको पुछारमा परेका मानिसहरूसँग बस्नुहोस्। उनीहरू जीविकाको लागि जे काम गर्छन्, त्यही गर्नुहोस्। उनीहरूलाई दिनभरि पछ्याउनुहोस्। उनीहरू हिँड्ने बाटोमा हिँड्नुहोस्।

उनीहरूसँगै वरिपरिको टोल घुम्नुहोस्। उनीहरूका छरछिमेकसँग कुराकानी गर्नुहोस्। उनीहरूका सन्तान पढ्ने विद्यालय र क्याम्पस जानुहोस्। उनीहरूले जचाउने अस्पताल पुग्नुहोस्। समाजसँगको उनीहरूको सम्बन्ध र भोगाइलाई नियालेर हेर्नुहोस्। नेताको पगरी छोडेर जनता भएर बाँच्ने हो भने सायद समाजको नयाँ चित्र देखिनेछ। नयाँ आवश्यकता, चुनौती र सम्भावनाहरू देखिनेछन्।

त्यसपछि थाहा हुनेछ, आदेश र उर्दी जारी गर्नेबाहेक नेतृत्वको कति धेरै काम छ भनेर। रेल र भ्युटावर जस्ता लोकरिज्याइँका कामभन्दा तत्काल गर्नुपर्ने अरू धेरै काम रहेछन् भनेर।त्यसपछि थाहा हुनेछ, काठमाडौं बाहिर पनि नेपाल छ भनेर।

२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया