सोमबार १० माघ २०७८

नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन्। उन्नाइस वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तान जन्माइन्। छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसयल हुन्छ भन्ने उनको सोचाइ थियो।जीवन सोचेजस्तो भएन, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोस्यो।

श्रीमानको मृत्यु भयो, एक छाक खाएर भए पनि छोराछोरी हुर्काइन्। छोराछोरीको मायाले गर्दा उनले जवानीमै पति बिना एक्लो भए पनि अर्को विवाह गरिनन्।विसं २०५६ मा छोरा अमरको विवाह गरिदिइन्। उनीहरूबाट एक नातिनीको जन्म भएपछि केही सान्त्वना मिल्यो। त्यतिबेला माओवादी ‘जनविद्रोह’ उत्कर्षमा थियो। गाउँका तरुना तन्नेरीहरू माओवादीमा गएको खबर आइरहन्थ्यो।

‘मेरो पनि छोरालाई लाने पो हुन् कि ?’ भन्ने उनलाई डर लाग्यो। बुहारी दुई महिनाको सुत्केरी थिइन्। छोरा अमरबहादुरलाई माओवादीले नलैजाऊन् भन्दै जिल्ला सदरमुकाम पठाइन्।एक महिना जिल्ला सदरमुकाम बसेका अमर केही काम नपाएपछि घर फर्किए।घरमा गएको मौकामा उनलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरेर लगे।

‘म घरको भुइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे। राति आएर माओवादीले छोरालाई लिएर गएछन्’, विगत सम्झँदै उनले भनिन्। छोराको चिन्ताले उनलाई सताइरह्यो। माओवादीबाट छुटाएर छोरालाई घर ल्याउन भन्दै नन्दकलीले आठ हजार रूपैयाँमा गोरु बेचिन्।

छोराको अवस्थाबारे उनले गाउँका जान्ने बुझ्ने सबैलाई सोधिन्।माओवादीको स्थानीय नेतृत्वबाट एक/दुई दिनपछि छोड्ने आश्वासन पाइन्। छोरा आउने आशामा रहेकी नन्दकली धेरै दिन भोकै बसिन्।छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गरिन्। उनको मनको इच्छा न देवीदेवताले बुझे। बरु उल्टै अपहरण भएको एक महिनापछि २०५९ मा साबिकको रानीवन गाविसमा माओवादीले अमरबहादुरको हत्या गरेको खबर आयो।

एक्कासि छोराको हत्याको खबरले उनलाई ठूलो बज्रपात भए जस्तो भयो। एकपछि अर्को पीडा खेप्दै गएकी नन्दकलीसँग बाँच्नुबाहेक अर्काे विकल्प थिएन।केही समयपछि बुहारीले पनि अर्को विवाह गरिन्। अब नातिनीलाई हुर्काउने जिम्मा पनि उनीमाथि नै आइलाग्यो। अहिले तिनै नातिनी उनको बुढेसकालको सहारा बनेकी छन्।

तत्कालीन समयमा बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो।सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो। उनीसँग मरेको छोरा सम्झिनुको विकल्प रहेन। शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउँछिन्।

अहिले नन्दकलीलाई खाना लाउन समस्या छ। शारीरिक अवस्था कमजोर हुँदै गएको छ। उनी मुटु र मधुमेहसमेतको बिरामी छन्।पैसा नहुँदा उपचार गर्न सक्नु भएको छैन। अहिले उनलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ।उनी भन्छिन्, ‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु’, उनले भनिन्।

जीवनमा दुःखैदुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ, ‘देशमा फेरि युद्ध नहोस्। मेरो जस्तै अरू आमाले पीडा भोग्नु नपरोस्।’
सशस्त्र द्वन्द्वका क्रममा दैलेखमा राज्य पक्षबाट सयौं व्यक्ति मारिएका छन् भने माओवादी पक्षबाट पनि धेरैले अकालमै ज्यान गुमाएका छन्। रासस

३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया