शनिबार १५ माघ २०७८

काठमाडौ । ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे। अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठोक्किन पुगे। उनीहरूले उनको खेतीपाती धानिदिने, बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्यान ओत्याउन दिने समझदारी भयो।

करिब ६ महिनाअघि बालबहादुर बिरामले थलिए। ठूलो अस्पतालमा उपचार गर्न जाने औकात थिएन। त्यही रोगले केही पहिला उनलाई टपक्कै टिपेर लग्यो।

जब उनी बिरामी परे, दिलमाया पनि खट्न नसक्ने हुँदै गइन्, जग्गाधनी निर्जला दाहालले गएको दसैं सकिए लगत्तै जग्गा खाली गरिदिन सूचित गरिन्। ‘अंश मिलाउनुपर्ने भयो’ भन्दै उनले हट्न भनेकी थिइन्।

बालबहादुरको काजकिरिया सकेपछि बेसहारा बनेकी दिलमायाको जीवनमा अर्को जटिलता थपिएको छ, ‘अब कहाँ जाऔं ?’ गहँभरि आँसु पार्दै उनले भनिन्, ‘१७ वर्षदेखि अर्काको जमिन खनजोतमा मेरो बुढोको जीवन बित्यो। तर, सानो झुप्रोसम्म बनाउने जमिन किन्न सकिएन।’

अर्काको गुलामी कति गर्ने भनेर पैसा कमाउने अभिलाषाले उनीहरूका छोरा १२ वर्षअघि भारतको कोइलाखानी पसेका थिए। त्यतिबेला उनी १८ वर्षका थिए। त्यसयता उनी न फर्किएर आए, न सम्पर्कमै छन्। दिलमायाको दिलमा यो अर्को चोट बनेर बसेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

३२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया