सोमबार १० माघ २०७८

दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।

आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ । प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही–तुलसीपुर सडकखण्ड ठप्प छ । पत्रेखोला, सेवार र हापुर खोलामा पानीको बहाब बढेपछि साना तथा ठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

त्यस्तै जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु रहेकी छन् ।

दिउँसो गाइ चराउन गोठालो गएको बेला गण्डिगाड खोलाले बगाउँदा निज बालिका बेपत्ता भएकी हुन् । बेपत्ता बालिकाको खोजीका लागि प्रहरी चौँकी सानागाउँबाट प्रहरी नायव निरीक्षक नारायणदत्त बडुको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोलामा बाढी आएको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल विरिङ खोलामा आज बिहान मृतावस्थामा फेला परेका छन् । अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो । खनाल शुक्रबार राति ८ः०० बजेपछि घरबाट हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको आज मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक खड्का नेपाल विद्यार्थी सङ्घका नेतासमेत हुनुहुन्छ । प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया