सोमबार १० माघ २०७८

काठमाडौं । चीनले आफ्नो अन्तरिक्ष स्टेसनको पहिलो २४ घ‌ण्टाको भिडिओ सार्वजनिक गरेको छ । उक्त भिडिओमा निय हाइशेङ, लिउ बोमिङ र थङ होङ्बोले हावामा उडिरहेको बक्सहरुसँगै खाना खाँदै गरेको भिडियो देख्न सक्छौं । भिडियोमा उनीहरुको तियान्हे मोड्युलमा पहिलो २४ घण्टाको गतिविधिलाई देखाइएको छ । उनीहरु तियान्हे मोड्युलमा अबको तीन महिनासम्मका लागि बस्नेछन् ।

विगत पाँच वर्षमा यो चीनको स्पेस मिशनको पहिलो क्रु हो, जो अहिलेसम्मकै सबैभन्दा बढी समयमा अन्तरिक्षमा बस्नेछन् । चीनको राष्ट्रिय प्रसारक केन्द्रीय चाइना टेलिभिजनमा प्रसारण भएको समाचारअनुसार अन्तरिक्षयात्रीहरु विहानको ८ बजे ग्राउण्ड कन्ट्रोलमा सम्पर्क गरेर दिनको सुरुवात गर्छन् र रातिको करिब ९ बजेसम्मको उनीहरुको कामको अपडेट गरेर दिन सकिन्छ ।

अन्तरिक्षयात्रीहरुले आरामदायी किसिमले काम गर्न सकुन् भनेर उनीहरुलाई हप्तामा एकदिन छुट्टीको पनि व्यवस्था गरिएको छ । बुधबारको दिन चिनियाँ राष्ट्रपति सी जिन पिङले अन्तरिक्षयात्रीहरुसँग पाँच मिनेटको लागि कुरा गर्दै उनीहरुको कामको लागि धन्यवाद व्यक्त गरेका थिए ।

साउथ चाइना मर्निङको रिपोर्ट अनुसार चिनियाँ राष्ट्रपतिले भनेका थिए, ‘अबको तीन महिनामा सम्म तपाईहरु त्यहाँ स्पेसमा बस्नुहुनेछ । तपाईहरु स्पेसमा काम गरिरहनुहुँदा तपाईहरु भने चिनियाँ नागरिकहरुको मनमा बस्नुहुनेछ ।’ नियको नेतृत्वमा रहेको मिसनको प्रमुख उद्देश्य २२.५ टनको चिनियाँ अन्तरिक्ष स्टेसनलाई सञ्चालनमा ल्याउनु रहेको छ।

३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया