सोमबार २० आषाढ २०७९

यात्रामा हिँडेकी दीपालाई रेलले स्टेसनमा एक्लै छोडेर जान्छ। उनी एक्लो पर्छिन् र बल गरेर रेल भेट्न दौडिन्छिन्। दौडिँदा दौडिँदै लड्छिन्। यो दृश्य वास्तविक होइन। दीपाले देखेको सपना हो।

दीपाको यो अत्यासलाग्दो सपना सकिएसँगै ‘रजनीगन्धा’ फिल्म सुरू हुन्छ।

दीपाको सपनापछि उनी सामान्य रूपमा भाउजूसँग कुराकानी गरेको देखाइन्छ। बाहिर सामान्य देखिए पनि उनको मनमा अनेकन उल्झन छन्। उनले देखेको सपना त्यही उल्झनको झलक हो।

पात्रको मनोदशालाई संवाद बिना सपनाको माध्यमबाट पहिलो दृश्यमै स्थापित गर्ने रजनीगन्धाका निर्देशक बासु चटर्जीको विशिष्ट शैली पनि हो।

यस्तै बलियो दृश्यबाट सुरू हुने यो फिल्म एकै पटक दुई युवासँग प्रेम गर्ने युवतीको वरिपरि घुम्छ। दीपा मध्यमवर्गीय शिक्षित युवती हुन् जो जागिर खोजिरहेकी हुन्छिन्। उनका प्रेमी संजय आफ्नो बढुवा भएपछि दीपासँग बिहे गर्ने सोचमा छन्।

जागिरकै सिलसिलामा उनी मुम्बई जान्छिन्। मुम्बईमा उनको भेट पूर्वप्रेमी नवीनसँग हुन्छ। नवीनले दीपालाई कलकत्ता घुमाउनेदेखि जागिरका लागि भनसुन गरिदिनेसम्मको सहयोग गर्छन्। वर्षौंपछिको यो भेटले दीपाको मनमा नवीनप्रतिको पुरानो प्रेम फेरि पलाउन थाल्छ।

नवीनकै कारण दीपाको मुम्बई बसाइ रोमाञ्चक बन्छ। तर केही दिनमै दीपाको दिल्ली फर्किने समय आउँछ। नवीनसँग टाढिने मन नभएकी दीपा रेलको झ्यालबाट उदास अनुहारले नवीनलाई नै हेरिरहन्छिन्। दिल्ली फर्केपछि पनि दीपाको दिमागमा संजयभन्दा नवीनकै झल्को आइरहन्छ।

दीपा मुम्बई बसुन्जेल नवीन र संजयबीच तुलना गरिरहन्छिन्। हरेक दिन ढिला आएर कुराइराख्ने संजयको ठीक उल्टो नवीन समयको मामिलामा पक्का छन्। आफ्नै कुरामा मस्त रहने संजय दीपाले के सोचिरहेकी होलिन् भनेर विरलै सोच्छन्। नवीन भने केही नबोली दीपाका प्राथमिकता बुझ्छन्।

फिल्ममा दीपाको मनका कोठा बाहिर-भित्र गरिराख्ने नवीन र संजयमध्ये कसलाई रोज्ने भन्ने दुबिधालाई सशक्त रुपमा देखाइएको छ। फिल्मको द्वन्द्व नै यही हो।

मनभित्रै बोलेर पूर्वप्रेमीलाई आफ्नो भावना व्यक्त गर्न चाहेकी दीपाको यो उल्झन र द्वन्द्व नवीनसँगको उनको हरेक भेटमा मुखर भएको देख्न पाइन्छ। यही भावलाई योगेशको शब्द, शलील चौधरीको संगीत र मुकेशको स्वरमा सजिएको ‘कही बार यू भी देखा है, ये जो मनकी सीमारेखा है, मन तोडने लगता है’ गीतले बलियो गरी समातेको छ। लता मंगेशकरको स्वर रहेको ‘रजनीगन्धा फूल तुम्हारे’ बोलको गीत पनि प्रतीकात्मक छ।

आफ्नै चाहना र प्रेमको मनोवैज्ञानिक अन्तर्द्वन्द्वबाट गुज्रेकी दीपाको चरित्रमा विद्या सिन्हाले सशक्त अभिनय गरेकी छन्। आँखामा चञ्चलता थप्ने दृश्य होस् वा उदासी पोख्ने ठाउँ, नबोलेरै उनले अभिनयको प्रभाव छाडेकी छन्। महिलाको कोणबाट महिला केन्द्रमा रहेको रजनीगन्धाको हिरो उनै हुन्। फिल्ममा पुरुष पात्रभन्दा बढी समय उनैले ओगटेकी छन्।

पढेर जागिर खाने उद्देश्यले एक्लै मुम्बई जाने, आफ्नो प्रेम र चाहनाको निर्णय आफैं लिने दीपा नायकका अघिपछि नाच्ने नायिकाभन्दा स्वतन्त्र र आत्मनिर्भर देखिन्छिन्। यसअघि ‘राजा काका’ फिल्ममा अभिनय गरे पनि अभिनेत्री सिन्हा यही फिल्मबाट बलिउडमा स्थापित भइन्। सन् १९७० र ८० को दशककी सक्रिय एवम् सफल अभिनेत्री विद्याका प्रेमी संजयको भूमिकामा अमोल पालेकर र नवीनको भूमिकामा दिनेश ठाकुरको अभिनय पनि कम छैन।

कथा-पटकथा राम्रो सिनेमाको पहिलो आधार हो। भारतको हिन्दी साहित्यमा ‘नई कहानी’ आन्दोलन चलाउनेमध्येकी एक मन्नू भंडारीको ‘यही सच है’ शीर्षकको कथालाई निर्देशक चटर्जीले कुशलतापूर्वक पटकथामा ढालेका छन्। अनुप बरालको निर्देशनमा बनेको ‘महाभोज’ नाटक हेर्नुभएको छ भने भंडारीको नाम पक्कै याद होला।

सन् १९७४ मा सार्वजनिक रजनीगन्धा त्यो समयका बलिउड फिल्मभन्दा अलग थियो। चटर्जी व्यवसायिक सिनेमाका सूत्र नपछ्याइ मध्यमर्गीय मानिस र महिला-पुरुष सम्बन्धका आयामलाई सरल तर सटिक रूपमा उतार्न सिपालु निर्देशक हुन्। यो काम उनले आफ्ना फिल्ममा कम लगानी र नाम नचलेका कलाकार मार्फत गरेका छन्।

यसअघि मराठी भाषाका फिल्ममा अभिनय गरेका अमोल पालेकरको पहिलो हिन्दी फिल्म थियो। विद्या पनि नयाँ थिइन्। पछि चटर्जी, पालेकर र विद्याको जोडीले एक से एक राम्रा र सफल फिल्ममा सहकार्य गरे।

‘छोटी सी बात, चितचोर, बातों बातों में, स्वामी, कमलाकी मौत’ लगायत चर्चित फिल्मका निर्देशक चटर्जीको ‘रजनीगन्धा’ ले क्रिटिक्स अवार्ड र बेस्ट फिल्म विधामा फिल्म फेयर अवार्ड जितेको थियो।

२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया