आइतबार १७ साउन २०७८

बर्सेनि विपत्ति, भवितव्यबाट ताडित बन्दै आएको सिन्धुपाल्चोक यसवर्ष वर्षात्को सुरुमै बाढीको चपेटामा परेको । गत वर्ष भदौ २७ गते पूर्वी सिन्धुपाल्चोको बाह्रबिसे नगर क्षेत्रको नागपुजेमा अकल्पनीय पहिरो गएको थियो । समथर भूभाग पनि पहिराले भोटेकोसी नदीमा मिसाइदिएपछि त्यहाँका ८० घर परिवार विस्थापित हुन पुगेका थिए । अहिले पनि त्यहाँका नागरिकले घर बनाउन सकेका छैनन् । त्रिपालको ओतमुनि रात बिताउनु परिरहेको छ।

यस वर्ष वर्षाको सुरुआतमै सिन्धुपाल्चोकको उत्तरपश्चिम क्षेत्रले बाढीको त्रासदी खप्नु परेको छ । पश्चिमी क्षेत्रबाट बगेर आउने मेलम्ची र उत्तरी क्षेत्रबाट बगरे आउने इन्द्रावतीको सङ्गल स्थल भए पनि मेलम्चीको तटवर्ती बजार सुरक्षित नै थियो । बजार क्षेत्रबाट ५० मिटर तलबाट खोलो बग्ने हुनाले डुबानको भय नभएको स्थानीय बताउँछन्।

तर, हेलम्बु गाउँपालिकाको भ्रातेकतेक (मेलम्ची र तार्के घ्याङको बीचको भूभाग) क्षेत्रमा खसेको पहिरोले नदी थुनिएको थियो । खोलिएको नदीले नै तल्लो तटीय क्षेत्र बगरमा परिणत गरेको हो।

तिम्ब, किउल, ग्याल्थुम, तालामाराङ, मेलम्ची आदि बजारले अहिले पनि बाढीको धक्का बेहोरिरहेकै छ । पहिराको लेदोसहितको भँगालो बचेखुचेका संरचना खण्डहर बनाइरहेको स्थानीयबासी बताउँछन् । झरी नथामिएकाले विपत्ति टरिनसकेको पनि उनीहरूको भनाइ छ।

बुधबार दिउँसो मेलम्ची इलाका प्रहरी कार्यालय दक्षिण, मन शान्ति वस्ती पुग्दा माओवादी केन्द्रका स्थानीय नेता श्याम खड्का नदीको भँगालाभित्र परेको आफ्नो घर हेरिरहेका थिए।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेलम्ची नगरको उमेदवार बनेर पराजित (४ हजार ८२० मत ल्याएर) भए पनि गाउँ क्षेत्रमा उनको छवि समाजसेवीको रूपमा स्थापित थियो । घरजग्गाको कारोबारी पनि भएकाले उनले आफ्नो घर वरपर मनग्गे जग्गा बाँडेका थिए । उनकै जग्गामा नगरपालिकाले समेत संरचना तयार पार्दै थियो।

लेदो र विशालकाय ढुङ्गाले इन्द्रावती नदीको बहाव परिवर्तन हुँदा अहिले खोल सीधै उनको घरतिर सोझिएको छ । अहिले उनी हरबखत बाढीको धक्काको सामना गरिरहेको घर हेर्न अभिशप्त छन् । जीवनभरको पसिना भेल निल्न लागेको टुलुटुलु हेर्न विवश छन्।

अहिले सामाजिक सञ्जालमा नदी तटीय क्षेत्र मिचेर संरचना उभ्याउँदा बाढीको वितण्डा बेहोर्नु परेको टिप्पणी भइरहेको छ । यसले पनि उनीहरूलाई विक्षिप्त तुल्याएको छ। यसकारण कि, लेदो भरिँदा मेलम्ची नदी प्राकृति सतह–बहावभन्दा ४०–५० मिटरसम्म माथि आएको छ । बाजेबराजुको पालादेखि भोगचलन गर्दै आएको र आफ्नै लालपुर्जाको जग्गाभित्र घर–संरचना तयार पारेका उनीहरूले अहिले बाढीको वितण्डा बेहोरिरहेका छन्।

“यहाँबाट झण्डै ५० मिटरको दूरीमा खोलो थियो । यति माथिसम्म आउला भनेर कहिल्यै चिताइएन,” खड्का थप्छन्, “बाढीको जोखिम नरहेकैले हामीले यहाँ आवास क्षेत्र बनाएका थियौँ र मनशान्ति टोल राखेका थियौँ । सबैभन्दा बढी अशान्त र आक्रान्त यही बस्ती छ । हेर्नुस् त बाढीले छोपिन बाँकी केही छैन।”

दुई ठूलो खोला मिसिएको इन्द्रावतीले वर्षात्को समयमा स्वाभाविक हिसाबले विराट रूप धारण गर्छ । १६ वर्षअघि पनि इन्द्रावतीमा ठूलो बाढी आएको थियो । बगर बिराएर बनाएका खेतहरूलाई आफ्नो आहारा बनाएको थियो।

तर, यसपटक यस शताब्दीमै नदेखिएको बाढीको सामना मेलम्ची क्षेत्रले गरेको खड्का बताउँछन् । बाढीले अहिलेसम्म नवलपुर–मेलम्ची जोड्न पक्की पुल, चारवटा झोलुङ्गे पुल बगाएको छ । हेलम्बु गाउँपालिका क्षेत्रको क्षतिको यकिन विवरण आउन बाँकी छ । बढी क्षति मेलम्ची बजार क्षेत्रमै देखिएको खड्का बताउँछन्।

“घरखेत सबै बगाएर सुकुम्बासी नै तुल्याए पनि मैले आफूलाई राहत आवश्यक पर्ने देखेको छैन । तर, यहाँ कयौँ यस्ता परिवार छन् । उनीहरू हातमुख जोड्न सक्ने अवस्थामा पनि छैनन् । अकल्पनीय बाढी आएकाले कतिपयले आफ्ना लुगाफाटोसमेत निकाल्न पाएनन् । उनीहरूलाई तत्काल राहत र बासको आवश्यकता छ । यो कुरा कसरी व्यवस्थापन गर्ने ? उनीहरूलाई सरकार, राज्य छ भन्ने कुराको अनुभूति कसरी दिलाउने ? आजको मुख्य चुनौती यही हो,” उनी सुनाउँछन्।१२खरीबाट

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया