सोमबार २० आषाढ २०७९

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना सङ्क्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया भएको छ । झापाका ३८ वर्षीय ती व्यक्ति एउटा घरको भित्ता प्लाष्टर गर्दैगर्दा ११ गते दिउँसो १ बजेतिर ६ फिटको उचाई बाट झर्दा छातीको देब्रेपट्टि कोखाबाट एउटा रड करिब १२ इन्च (४० से.मी.) जति भित्र छिरेको थियो ।

सोही दिन करिब ४ बजेतिर प्रतिष्ठानको आकस्मिक कक्षमा छातीको रड ननिकालिएकै अवस्थामा ल्याइएको थियो । बिरामीको एक्सरे, सिटी स्क्यान तथा अन्य परीक्षणहरू गरी तुरुन्त अप्रेशन गर्ने निर्णय गरिएको थियो ।

जेनेरल सर्जरी विभागका डा. सुरेशप्रसाद शाहको नेतृत्वमा डा. लोकेश शेखर जैसवाल –कार्डियो थोरासिक भास्कुलर सर्जन), डा. विजय श्रेष्ठ, डा. पवन सापकोटा त्यसैगरी एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डललगायतको टिमले अपरेसन थालेको थियो ।

बेलुकी ७ बजेदेखि सुरु गरिएको शल्यक्रिया राति ११ बजे सफलतापूर्वक सम्पन्न भएको थियो । बिरामीलाई ओ.टी. टेबलमा पुर्‍याइसकिएको अवस्थामा उनको जिनएक्स्पर्टका आधारमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएता पनि स्वास्थ्य मापदण्डको पालना गर्दै उक्त टिमले सो जटिल शल्यक्रिया गरेको थियो ।

बिरामीको छातीमा छिरेको सो रडले देब्रे पट्टिको करङलाई छेडी फोक्सोको तल्लो भागमा चोट पुर्‍याउनुका साथै मुटुको पेरिकार्डियममा समेत चोट पुर्‍याएको थियो । लेफ्ट थोराकोटोमी तथा एक्प्लोरेटिभ लापारोटोमी नामक उक्त शल्यक्रियाको क्रममा सो रड निकालिनुका साथै फोक्सो तथा मुटुमा लागेको चोटको पनि उपचार गरिएको थियो ।

शल्यक्रियापश्चात निजलाई सोही दिन कोभिड अस्पतालको आइसियूमा भर्ना गरी बाँकी उपचार सुरु गरिएको थियो । बिरामी दुत गतिमा निको हुँंदै जाँदा १८ गते पुनः पिसिआर परिक्षण गरिएको थियो ।

उक्त परिक्षणको नतिजा नेगेटिभ आएपश्चात उनलाई सोही दिन सर्जरी वार्डमा सारिएको थियो । सर्जरी वार्डको केही दिनको उपचारपश्चात निको भइ उनी २२ गते अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया