काठमाडौ । बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको २९९ रोपनी सरकारी तथा सार्वजनिक जग्गा प्रकरणका अभियुक्त ४९ जनाको घर ठेगाना पत्ता नलागेको भन्दै भूमिसुधार तथा मालपोत कार्यालयले २१ दिने सूचना जारी गरेको छ। आइतवार जारी गरिएको सूचनामा ४९ जनाको घर ठेगाना पत्ता नलागेको उल्लेख छ ।
तरअचम्मको कुरा त के छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको समेत घर ठेगाना समेत सरकारले पत्ता लगाउन सकेन । सूचनामा उनको नाम पनि उल्लेख गरिएको छ । जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका एक गुरुङले कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरू आफ्नै नाममा राखेका ब्यक्ति हुन् ।
त्यतिमात्रै होइन, गुरुङले भाटभटेनी डेभलपर्स प्रालिको नाममा कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा राखेका छन्। श्रीमती, छोरा लगायतका आफन्तको नाममा समेत वालुवाटारका जग्गा आफ्नो नाममा पारेका गुरुङसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० करोडभन्दा बढी धरौटी र १० वर्ष कैद सजाय माग गरेको छ।