सोमबार १० माघ २०७८

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौन्द्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी गर्दै निषेधाज्ञा र सो अवधि समाप्त भएको एक महिनासम्म कुनै प्रकारको असुली र लिलामीसम्बन्धी सुचना जारी गर्न नपाउने व्यवस्था गरेको हो ।

यस्तै निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिने पनि समिक्षामा उल्लेख छ । अघिल्लो बर्ष लकडाउनको समयमा १० प्रतिशत छुटको व्यवस्था गरिएपनि यसपालि भने छुटको घोषणा गरिएको छैन ।

यस्तै लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने उद्योगले बैंकहरुको आधार दरमा नै ऋण पाउने भएका छन । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापनाको लागि ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापनाका लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक बर्षको विशेष पुन:कर्जा उपलब्ध गराउने निर्णय पनि केन्द्रीय बैंकले गरेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुले ऋणसँगै निक्षेपको व्याजदर परिवर्तन हुँदा ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल जानकारी दिन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया