विराटनगर । विराटनगरको एम्स अस्पतालले उपचारका लागि १८ घण्टा राख्दा बिरामीलाई एक लाख ३६ हजारको बिल थमाएको छ । जनकपुरबाट उपचारका लागि आएका ४४ वर्षीय बद्रीबहादुर मगरको उपचार शुल्कवापत अस्पतालले आफन्तलाई एक लाख ३६ हजारको बिल थमाएको हो ।शनिबार नोबेल मेडिकल कलेजमा भर्ना भएका बद्रीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएपछि नोबेलले अन्त्यन्त्र लैजान भन्यो ।
राति साढे ८ बजे आफन्तले उनलाई विराटनगर अस्पताल चोकमा रहेको एम्स अस्पतालमा भर्ना गरे । उपचार महंगो भएको जानकारी पाएपछि उनीहरुले डिस्चार्ज मागे । तर डिस्चार्ज पेपरसँगै १ लाख १६ हजारको बिल दिएको बुहारी निशा मगरले बताइन् ।‘आईसीयूमा राखेको थियो, भोलिपल्ट औषधि र बेड चार्जसहित एक लाख ३६ हजार तिर्न लगाए,’ उनले भनिन्,‘ पैसा तिरेर बुबालाई मोरङ सहकारी अस्पतालमा लग्यौं ।’
मोरङ सहकारीमा पीसीआर परीक्षण गर्दा पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखिएको छ । बुहारी निशाले भनिन्, ‘अक्सिजन सपोर्टमा उपचार हुँदैछ ।’ महङ्गो शुल्क लिएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा ठगीको उजुरी गरेका छन् ।ठगीको उजुरी आएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए ।एम्स अस्पतालको प्रशासनका एक कर्मचारीले भने भेन्टिलेटरमा दुई दिन राखेकाले धेरै बिल उठेको बताए । ‘अघिल्लो दिन आएर उहाँ भेन्टिलेटरमा बस्नुभयो,’ उनले भने, ‘भोलिपल्ट जाँदा दुई दिनको हिसाब भयो ।’